अत्तरिया – गोदावरी धाम धार्मिक पर्यटकिय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । यहाँ बिभिन्न धार्मिक कार्य गर्न र घुम्ने उद्देश्यले दैनिक सयौँ आन्तरिक तथा बाह्य प्रर्यटन पुग्ने गरेका छन । सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने सप्त गोदावरी मध्येको प्राचीन गोदावरीका रूपमा यसलाई लिने गरिन्छ ।
यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएकाले यसको धार्मिक महत्व ठूलो रहेको छ । ठूलो धार्मिक महत्व बोकेको यस क्षेत्रमा पछिल्लो समय भने बिभिन्न बिकृति देखिन थालेका छन । यहाँ रमाईलो गर्ने नाममा मादक पदार्थ सेवन गर्ने र प्रयोग गरिएका बोतलहरु जताततै फाल्ने गरिएको छ । विशेष गरेर गोदावरी पुल माथिको नदी किनारामा जताततै रक्सी, वियरका बोतल छरपस्ट देख्न सकिन्छ ।


विभिन्न पर्वहरुमा सो क्षेत्रमा श्रद्धापूर्वक हजारै भक्तजनहरु स्नान गर्न जाने गरेका भएपनि अहिले भने सो क्षेत्र मदिरापान सेवन गर्ने क्षेत्रका रुपमा समेत प्रयोग भएको पाइएको छ ।
हाल गोदावरीमा धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला लाग्ने गरेको छ । गोदावरीमा अहिले दर्जनौँ मन्दिरहरु पनि निर्माण गरिएका छन । धार्मिक क्षेत्रका रुपमा रहेको सो क्षेत्रमा पछिल्लो समय भने विकृति बढ्न थालेपछि सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन ।


गोदावरी धाम विकास समितिका अध्यक्ष पदम राज जोशीले गोदावरी पश्चिम नेपालकै पवित्र तिर्थ स्थल भएपनि स्थानियले यसको महत्व बुझ्न नसकेको बताए । उनले पवित्र क्षेत्रमा मासु खाने, रक्सी खाने गर्नाले यस क्षेत्रको विकासका लागि गरेका काममा पानी छर्के जस्तो भएको बताए ।
‘यो सम्पुर्ण क्षेत्र गोदावरी नगरपालिका मातहतमा रहेको छ । यसको नियन्त्रणका लागि नगरपालिकाले लाग्नुपर्छ । नगरपालिकाकाले कागजमा यस क्षेत्रमा मदिरा सेवन गर्न नपाइने भनेपनि त्यो कार्यान्वय हुन सकेको छैन’ उनले भने ‘नगरपालिकालले यसको नियन्त्रणका लागि नगर प्रहरी र प्रहरी परिचालन गर्नु पर्छ ।’

गोदावरी क्षेत्रको बृहत विकास गरिने भनेर राज्यले पटक–पटक भन्दै आएको भएपनि अहिले सम्म सो क्षेत्रमा पर्यटकहरुले गरेको फोहर फाल्ने समेत व्यवस्था गरिएको छैन ।




















