खाेज्नुहाेस

केरा खेतीबाटै मनग्य आम्दानी गर्दै कञ्चनपुरका राना

Image

कञ्चनपुर – बेलौरी नगरपालिका—८ कलकत्ताका करमसिंह राना सफल केरा उत्पादकका रुपमा परिचित छन् । डेढ दशकदेखि रानाले केरा खेतीलाई व्यावसायिक रुपमा अँगाल्दै आएका छन् । जिल्लामै सबैभन्दा बढी जग्गामा केरा खेती गरी आम्दानी गर्नेमा उहाँ एक्लो किसानमा पर्छन् ।

शुरुमा एक विघा जग्गामा केरा खेती गर्दै आउनुभएका रानाले हाल १७ विघा जग्गामा केरा खेती गरेका थिए । यसमा उनले बैंकबाट ऋण लिई ६० लाख लगानी गर्नु भएको छ । भाडामा लिएको जग्गावापत वार्षिक रुपमा रानाले २० लाख भाडा नै तिर्दै आएका थिए ।

attariya hospital

गत वर्ष चार विघा जग्गामा केरा खेती गर्नुभएका रानाले २० लाखको केरा बिक्री गरेका थिए । यसबाट खर्च कटाई उहाँलाई खुद छ लाख आम्दानी भएको थियो । यस वर्ष १३ विघा जग्गा थप गरी केरा खेतीलाई उनले विस्तार गरेका छन । केरा खेती गर्ने जग्गाको क्षेत्रफल बढेसँगै आम्दानी समेत बढ्नेमा उन ढुक्क देखिन्छन् । कम मिहेनतमै बढी प्रतिफल दिने जी नौ जातको टिस्युकल्चर गरिएको केरा उनले खेतमा रोपेका छन् ।

शुरुमा एक्लैले केरा खेती गर्दै आएकामा हाल भतिजा प्रताप रानालाई समेत उनले साझेदारका रुपमा लिएर केरा खेतीलाई अगाडि बढाएका छन् । आधुनिक तरीकाले केरा खेतीलाई विस्तार गरेको उनको भनाइ रहेको छ । झण्डै १६ वर्षअघि एक भारतीय किसानबाट केरा खेती गर्ने तरीकाबारे जानकारी लिएपछि पहिलो वर्ष केराका विरुवाहरु पनि भारतबाटै ल्याएर खेती गरेको उनले बताए । चाहे जस्तो आम्दानी लिन सफल भएपछि उत्साहित भएर निरन्तर रुपमा केरा खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै आएको उनको भनाइ छ ।

गत वर्ष कृषि ज्ञान केन्द्रबाट उहाँले केरा खेतीका लागि एक लाख २० हजार अनुदान रकम समेत प्राप्त गरेका थिए । ‘उन्नत जी नौ जातको केरा खेतमा रोप्न थालेपछि आम्दानी बढ्दै गएको छ’ उनले भने, ‘केरा खेतीबारे तालीम, कृषि औजार र उपकरणको प्रयोगमा जोड दिन थालेपछि लागत खर्चमा समेत निकै कटौती भएको छ ।’

गहुँ, धान लगायतका बालीका लागि अनुदानको मलको कोटा निर्धारण गरे जस्तै केरा खेती गर्ने किसानका लागि पनि सरकारले कोटा निर्धारण गर्नुपर्ने उनको सुझाव छ । उनी भन्छन्, ‘केरा रोप्ने बेलादेखि बाली दिँदासम्म मलको आवश्यकता हुन्छ। बजारमा मल नपाउँदा निकै सास्ती खेप्नु पर्दछ । भारतबाट अवैध रुपमा भित्राइएको रासायनिक मलको गुणस्तर नहुँदा ठगिने गरेका छौँ ।’

navjiwan hospital

भारतीय केरालाई निर्वाध रुपमा भित्राइँदा मूल्यमा प्रतिस्पर्धा गर्न गाह्रो भएको रानाले बताए । ‘भारतीय केरा सस्तोमै बिक्री हुन्छ । हामी कहाँ मलखाद, सिँचाइ, जोताइ, मजदूरको ज्याला गरी लगत खर्च बढी हुने भएकाले भारतीय केरासँग प्रतिस्पर्धा गर्न सहज छैन’, उनले भने। केरा उत्पादन गर्नका लागि १८ महिना लाग्ने गर्दछ । उत्पादक भन्दा बिचौलियाले बढी कमाउने गरेको उनको भनाइ छ ।

डडेल्धुरा, महेन्द्रनगर, धनगढी अत्तरिया लगायतका बजारका व्यापारीले नगदमै केरा खरीद गरी घरबाटै लैजाने गरेका छन्। उत्पादित केरा घरबाटै बिक्री हुने गरेकाले बजार खोज्दै जानु पर्ने झन्झट समेत छैन । उनले केरा खेतीका लागि दुई जना स्थायी र ३५ जना अस्थायी(आंशिक) रुपमा काम गर्ने गरी कामदार नियुक्त गरेका छन् ।

घरमै केराका टिस्युकल्चर गरिएका विरुवाको नर्सरी

घरमै टिस्युकल्चर गरिएका जी नौ जातका केराको नर्सरी तयार गरी रानाले आम्दानी गर्दै आएका छन् । नर्सरीमा उत्पादित विरुवा आफ्नै केरा फार्ममा रोप्ने र बाँकी रहेका बिरुवा अरुलाई बिक्री गर्छन् ।

ग्रिन हाउसभित्र रानाले केराका विरुवाको नर्सरी स्थापना गरेका छन् । गत वर्ष ४० हजार बिरुवा तयार गरी बिक्री गरेका रानाले यस वर्ष ६० हजार बिरुवा नर्सरीमा उत्पादन गरेका छन् । उत्पादित विरुवामध्ये ५० हजार बिक्री गरेका छन् । पाँच हजार बिरुवा नर्सरीमा बेच्न बाँकी रहेका छन् । उत्पादित पाँच हजार विरुवा विभिन्न कारणले मरेका छन् ।

’केराका उत्पादित विरुवा रु २० लाखमा बिक्री भएका छन’, उनले भने, ‘यसबाट चार लाख आम्दानी भएको छ ।’ उत्पादित केराका विरुवा शुक्लाफाँटा, बेलौरी, लालझाडी र पुर्नवासका ८० बढी किसानले खरीद गरी लगेका छन् । नर्सरीमा उत्पादित प्रतिबिरुवा ४० का दरले बिक्री हुँदै आएको छ ।

रासस