टीकापुर – कैलालीको जानकी गाउँपालिकाले पशुपालक किसानलाई दाना बनाउने र घाँस काट्ने मेसिन वितरण गरेको छ ।
व्यावसायिक रूपमा पशुपालन गरिरहेका पालिकाभित्रका १६ किसानलाई ७५ प्रतिशत अनुदान सहयोगमा मेसिन वितरण गरिएको हो । गाउँपालिकाबाट अनुदानमा दाना बनाउने र घाँस काट्ने मेसिन पाएपछि पशुपालक किसान व्यवसायमा सहयोग पुग्ने बताउँछन् ।

जानकी–९ मूर्तियाका प्रकाश विक तीन वर्षदेखि बाख्रापालन गरिरहेका छन् । सत्र वटा बाख्राबाट व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेका प्रकाशसँग अहिले ५६ बाख्रा छन् । गाउँपालिकाबाट दाना बनाउने र घाँस काट्ने मेसिन पाएपछि आफ्नो व्यवसायमा सहयोग पुग्ने उनी बताउँछन् ।
‘अब बाख्राका लागि दाना बनाउने र घाँस काट्ने मेसिन पाएँ । अब समय व्यवस्थापनमा सहयोग पुग्छ’ विकले भने, ‘व्यावसायिक पशुपालनमा लागेकालाई यसले ठूलो राहत हुन्छ । हाम्रो समय व्यवस्थापन मात्र होइन, राम्रो उत्पादन लिन सकिने अपेक्षा गरेको छु ।’
विकले स्वदेशमै केही गर्न चाहने युवा, कृषि र पशु कर्ममा लागेकालाई स्थानीय सरकारको यस्तै सहयोग आवश्यक रहेको बताए । वडा नम्बर ६ का जगत साउँदले पनि पाँच वर्षदेखि व्यावसायिकरूपमा बाख्रापालन गरिरहेका छन् । अहिले साउदको खोरमा ३५ बाख्रा छन् । गाउँपालिकाबाट दाना बनाउने मेसिन पाएपछि उनी पनि खुसी भएका छन् ।

‘पाँच वर्षदेखि यही व्यवसाय गरिरहेको छु । घरमै बसेर व्यवसाय गर्दा घरकै सदस्यले काम गर्न सकिने भएकाले यो व्यवसाय सहज छ’, साउँदले भने, ‘घाँस काट्ने मेसिन र दाना बनाउने मेसिन आवश्यक थियो । हाम्रो आवश्यकतालाई पालिकाले सम्बोधन गरेको छ ।’
तीन वर्षदेखि बाख्रापालन गरिरहनुभएका वडा नम्बर ४ कञ्चनपुरका रेजिना कठरिया अब पालिकाको सहयोगपछि यो व्यवसायमा थप टेवा पुग्ने बताउँछन् । ‘पालिकाले कृषि तथा पशुपालनमा लागेकालाई राम्रो सहयोग गरेको छ’ कठरियाले भने, ‘यसले हामीलाई थप प्रोत्साहन मिलेको छ ।’
दाना बनाउने र घाँस काट्ने मेसिन वितरण गर्दै गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पशुपालन गर्ने किसानलाई व्यवसायमा आकर्षण बढाउनका लागि गाउँपालिकाले सहयोग गरेको बताए ।
‘हामी आगामी दिनमा पनि सहयोग गर्छौँ, कृषि र पशुपालनमा लगानी बढाउने हाम्रो नीति पनि छ’ अध्यक्ष चौधरीले भने, ‘कृषिमा लागेकाहरुले सहयोग नपाउने कुरै हुँदैन, हामी सबैखाले सहयोग गर्न तयार छौँ, यहाँहरुको माग आउनुप¥यो ।’
उपाध्यक्ष उमा महतोले व्यावसायिकरूपमा काम गरिरहेका किसानको आयआर्जन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरे । ‘थप व्यवसाय विस्तार गर्न र आयआर्जन वृद्धिमा सहयोग पुग्नेछ’, महतोले भने, ‘अन्य युवालाई पनि यसले हौसला थप्नेछ ।’ पशु सेवा शाखा प्रमुख नरबहादुर कार्कीले शाखाबाट अनुदानमा वितरण गरिएका सामग्रीको सही सदुपयोग गर्न आग्रह गरे ।
‘हामीले व्यवसाय गरिरहेकालाई सघाएका छौँ, मेसिन मात्र होइन, अन्य खाले सहयोगका कार्यक्रम पनि छन् । उपचारदेखि सबैखाले सहयोग गरिरहेका छौँ’, कार्की भन्छन्, ‘व्यवसाय थप फस्टाओस् भन्ने हो । हामी अनुगमन गर्छौँ ।’
रासस




















