बैतडी – बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डमा कार्यरत मजदुर (लेन्थवर्कर) हरुले तलब नपाएको भन्दै अनसन सुरु गरेका छन् । २१ महिनादेखि तलब नपाएको भन्दै शुक्रबारदेखि रिले अनसन सुरु गरेका छन् । काम गरेको पारिश्रमिकका लागि सरकारलाई दबाब दिन रिले अनसन सुरु गरिएको लेन्थवर्कर जयराम भुलले बताए । लामो समयदेखि तलब नपाउँदा समस्या भएप्छि आन्दोलन गर्न बाध्य भएको उनले जानकारी दिए ।
पाटन–पञ्चेश्वर सडकको जिरो प्वाइन्ट पाटनमा रिले अनसन सुुरु गरेको लेन्थवर्कर लक्ष्मी पन्तले बताइन् । उनले भनिन् ‘हामीलाई संघीयता आएपछि घर न घाटको बनाइयो । लामो समयदेखि सडकमा काम गर्दै आइरहेका हाम्रो पीडा कसैले बझेनन्, तलब नदिँदा खानलाउनै समस्या भयो ।’


संघीय सरकार मातहत रहेको पाटन–पञ्चेश्वर सडक अहिले प्रदेश सरकार मातहत छ । सडक डिभिजन कार्यालयले पूर्वाधार विकास कार्यालयलाई सो सडक हस्तान्तरण गर्ने बेला सडकमा काम गर्ने लेन्थवर्करको पनि लिस्ट हस्तान्तरण गरेको थियो । प्रदेश सरकार मातहत आएपछि लेन्थवर्करहरुले ३ महिनाको तलब पनि बुझेका थिए ।
२०७६ साल असोजबाट आफूहरुले पारश्रमिक नपाएको लेन्थवर्कर हरजित महराले बताए । प्रदेश सरकारका तत्कालिन भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले लेन्थवर्करहरुलाई काम गर्न मौखिम रुपमा निर्देशन दिएका थिए । उनीहरुको व्यवस्थापन गर्ने आश्वासन समेत दिएका थिए । तर अहिले सम्म लेन्थवर्करहरुको कुनै व्यवस्थापन गरिएको छैन ।
संघीयता आएपछि आफूहरुको रोजीरोटी खोज्ने प्रयास भएको लेन्थवर्करहरुले आरोप लगाएका छन् । सडक डिभिजन कार्यालय मातहत पाटन–पञ्चेश्वर सडक हुँदा आफूहरुलाई कुनै समस्या नभएको र सडक प्रदेश सरकार मातहत गएपछि आफूहरु समस्यामा परेको लेन्थवर्करहरुले बताएका छन् । यसअघि लेन्थवर्करहरुले पारिश्रमिक दिलाइ दिनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । पाटन–पञ्चेश्वर सडकखण्डमा १२ लेन्थवर्करले काम गर्दै आएका छन् ।



















