खाेज्नुहाेस

सुदूरपश्चिमका मन्त्री शाहको कुलदेवता मन्दिरका लागि एक करोड बजेट विनियोजन

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहको कुलदेवताको मन्दिरमा एक करोड बजेट विनियोजन गरेको छ । शाहकै निर्वाचन क्षेत्रमा पर्ने बाजुराको खप्तड छेडेदेह गाउँपालिका–४ मा रहेको ज्यूलेख मन्दिर निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको हो ।

मन्त्री शाहको कुल देवता समेत रहेको ज्यूलेख मन्दिरमा चुनावका बेला समेत उनले पूजापाठ गरेका थिए । मन्त्री शाह मात्र नभएर प्रदेशका ९ वटै जिल्लामा यसरी नै समुदाय विशेषका मन्दिरमा करोडौं बजेट विनियोजन गरिएको छ ।

attariya hospital
navjiwan hospital

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरत श्रेष्ठले धार्मिक पर्यटन प्रवद्र्धनका लागि सरकारले वर्षेनी मन्दिरहरुमा समेत बजेट विनियोजन गर्दै आएको बताए ।

उनले अहिले अघिल्ला वर्षको जस्तो मन्दिर निर्माण मात्र नभएर त्यहाँसम्म पर्यटकलाई पु¥याउन पदमार्ग, प्रवेशद्वार जस्ता विषयलाई प्राथमिकता दिइएको दाबी गरेका छन् । पर्यटकको आकर्षण हुने ठूला धार्मिक स्थलमा पनि सरकारले लगानी गरेको उनी बताउँछन् ।

प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि एक सय ७२ वटा मन्दिर, चर्च र गुम्बा निर्माण गर्न १६ करोड ७२ लाख बजेट विनियोजन गरेको छ  । जसमा एउटा चर्च, तीनवटा गुम्बा र बाँकी सबै मन्दिर रहेका छन । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्यटन क्षेत्रमा विनियोजन गरेको बजेटको झण्डै एक तिहाइ बजेट मन्दिर लगायतका धार्मिक संस्थाकै नाममा दिइएको छ ।

आगामी आर्थिक वर्षका लागि दुई अर्ब ११ करोड बजेट पाएको मन्त्रालयले पर्यटन क्षेत्रमा झण्डै २५ प्रतिशत ५२ करोड बजेट छुट्याएकोमा मन्दिर, चर्च र गुम्बा तथा विभिन्न संरचना निर्माण शीर्षकमा मात्रै झण्डै १७ करोड रुपैयाँ छुट्याइएको छ ।