अत्तरिया– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा प्रथम कृष्णपुर नगरस्तरिय यु–१८ छात्र फुटबल प्रतियोगिता हुने भएको छ । कृष्णपुर नगरपालिकासँगको सहकार्यमा कृष्णपुर नगरस्तरिय बाल सञ्जाल ले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

सोमबारदेखी सुरु हुने प्रतियोगिता यही कार्तिक १९ गते सम्पन्न हुनेछ । आयोजक कृष्णपुर नगरस्तरिय बालसञ्जालले आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिनुका साथै ट्रफी समेत सार्वजनिक गरेको छ । ‘नसाको मैदान छोडौँ, फुटबलको मैदान रोजौँ’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताको विजेता टोलीले नगद रु. ३० हजारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै द्धितिय हुने टोलीले नगद रु. २० हजार सहित ट्रफी र मेडल प्राप्त गर्दा तृतिय हुने टोलीले नगद रु. १० हजार सहित ट्रफ र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको बेस्ट प्लेयरलाई नगद रु. ३ हजार ट्रफी दिईने आयोजक कृष्णपुर नगरस्तरिय बालसञ्जालका अध्यक्ष अशोक धामीले जानकारी दिए । त्यसबाहेक बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट फारवाड, उच्च गोल स्कोरर र बेस्ट कोचलाई नगद रु. १ हजार ५०० का साथै ट्रफी प्रदान गरिने उनले बताए । उनका अनुसार राईजिङ प्लेयरलाई गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । जुन भुमी पुस्तक पसलले प्रायोजन गरेको अध्यक्ष धामीले बताए । त्यसबाहेक प्रतियोगिताका प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद रु. ५०० प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचको प्रायोजन अत्तरियास्थित संघर्ष स्पोट्र्स क्लबले गरेको धामीले बताए ।
अध्यक्ष धामीका अनुसार प्रतियोगितामा १५ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नगरभित्र बसोबास गर्ने १८ वर्ष मुनीका युवाहरुलाई मात्रै समेटिएको छ । लागुऔषधको दुव्र्यसन न्यूनिकरण गर्ने मुख्य उद्देश्य लिएर प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । उनले प्रतियोगिताले युवापुस्तामा मौलाउदै गएको लागुऔषधको जालो लाई कम गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको समेत बताए । त्यसबाहेक नगरभित्रका युवा खेलाडीहरुको प्रतिभा पहिचान गरी बढी भन्दा बढी युवा खेलाडीहरु उत्पाद गर्ने लक्ष्य समेत राखिएको उनले बताए ।



















