डडेल्धुरा – १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डडेल्धुराका खेलाडी छनोट सुरु गरिएको छ । आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली तयार पार्न डडेल्धुरामा जिल्ला स्तरिय छनोट सुरु गरिएको हो । विभिन्न १७ खेल विधा हुने छनोटका लागि ४३५ खेलाडीले नाम दर्ता गराएका छन ।

जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख डम्बरबहादुर भण्डारीका अनुसार दर्ता भएका ४३५ खेलाडीमध्ये २४८ जना प्रदेशस्तरीय छनोटमा सहभागी हुनेछन् । भलिबल, खोखो, ह्यान्डबल, क्रिकेट, टेबलटेनिस, तेक्वान्दो, कराँते, बास्केटबल, उसु, कबड्डी, बुद्धिचाल, एथलेटिक्स, फुटबल, बक्सिङ, आईटीएफ तेक्वान्दो, बुदोकैदो फुलकन्ट्याक्ट कराँते र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुनेछ ।

जिल्ला छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले प्रदेशस्तरीय प्रतिस्पर्धामा डडेल्धुराको प्रतिनिधित्व गर्नेछन् । प्रदेशबाट छनोट हुने खेलाडीले राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमको टोलीबाट प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । जिल्ला छनोटमा स्वर्ण पदक जित्ने खेलाडीलाई व्यक्तिगत रूपमा १० हजार रुपैयाँ पुरस्कार दिइने जनाइएको छ ।





















