धनगढी – सुदूरपश्चिम सरकारले ल्याएको बजेट पारित गर्न सत्ता साझेदार दलहरूबिच सहमति भएको छ । संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति सँगै बजेट पारित गर्ने सहमति भएको हो ।

बजेटका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी भित्र विरोध भएको थियो । मंगलबार बसेको नेकपा संसदीय दलको बैठकले आइतबार प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने तर त्यसमा उठेका विवादित विषयहरूलाई संसदीय छानबिनमार्फत टुङ्ग्याउने सहमति जुटाएको छ ।

नेकपा सांसद अक्कल रावलका अनुसार प्रस्तुत बजेट तत्काल पारित गरिए पनि छानबिन नसकिएसम्म पुँजीगत खर्च नगर्ने सहमति भएको छ ।
आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथिको छलफल सुरु नहुँदै विवाद चर्किएपछि प्रदेशसभा बैठकसमेत प्रभावित हुँदै आएको छ । मंगलबार बिहान ९ बजेका लागि तय गरिएको बैठक पनि विवादकै कारण दिउँसो १ बजेका लागि सारिएको थियो ।
यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने बजेट जन पक्षीय नभएको र सरकारले प्रतिपक्षसँग कुनै समन्वय नगरेको आरोप लगाउँदै सदन बहिष्कार गर्ने अडान लिएको छ ।


















