काठमाडौं – ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज विश्व दृष्टि दिवस मनाइँदैछ । विश्व दृष्टि दिवस हरेक वर्ष ‘अक्टोबर’ महिनाको दोस्रो बिहीबार मनाइन्छ ।

यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार र सरोकारवालालाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ ।

साथै नाराले विद्यालय, कार्यस्थल र नीति निर्माण हुने स्थानमा आँखा परीक्षण तथा जनचेतनाका गतिविधि विस्तार गर्न पनि जोड दिएको छ ।
सन् १९८१ मा नेपालमा अन्धोपनको प्रचलन शून्य दशमलव ८४ प्रतिशत रहेकोमा सन् २०२२ को आरएएबी सर्वेक्षणमा यो शून्य दशमलव २८ प्रतिशतमा झरेको देखाएको छ । तर अन्धोपन घट्दैमा आँखाको स्वास्थ्यका सबै समस्या समाधान भएका छैनन् ।















