धनगढी– खेलकुद प्रवर्धन, युवा सशक्तीकरण तथा दुर्व्यसनमुक्त समाज निर्माणको सन्देश दिने उद्देश्यले धनगढीमा ‘कल २४ न्युज कप फुटसल टुर्नामेन्ट २०८३’ आयोजना हुने भएको छ।
कल २४ न्युजको आयोजनामा हुने प्रतियोगिता असोज २४ र २५ गते धनगढीस्थित वाल्मीकि फुटसलमा सञ्चालन हुनेछ। प्रतियोगिताको दोस्रो संस्करणबारे कल २४ न्युजका सम्पादक भक्तराज जोशीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्। गत वर्ष पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको आयोजकले यस वर्ष प्रतियोगितालाई थप व्यवस्थित र भव्य बनाउने जनाएको छ।


प्रतियोगितामा पुरुष र महिला दुवै विधामा प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ प्रत्येक टोलीमा ७ जना खेलाडी रहनेछन्। ३० वर्ष वा सोभन्दा माथिका खेलाडी सहभागी हुने व्यवस्था गरिएको प्रतियोगितामा प्रत्येक टोलीले ३० वर्षमुनिका एक जना खेलाडीसमेत सहभागी गराउन पाउनेछ। महिलातर्फ भने उमेरको कुनै सीमा राखिएको छैन।
पुरुषतर्फ विजेताले ५० हजार ५५५ रुपैयाँ र उपविजेताले ३० हजार ५५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन्। महिलातर्फ विजेताले २२ हजार २२२ रुपैयाँ र उपविजेताले ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन्। दुवै विधाका विजेता तथा उपविजेता टोलीलाई ट्रफी, पदक र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।
प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘टुर्नामेन्ट अफ द सिरिज’लाई जनही २ हजार ५०० रुपैयाँ तथा महिलातर्फका विधागत उत्कृष्ट खेलाडीलाई जनही १ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ। प्रतियोगिताका खेल कल २४ न्युजका आधिकारिक डिजिटल माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरिएको छ।


















