अत्तरिया – नेपाली कांग्रेसका नेता गोरखबहादुर बिष्ट (आनन्द)ले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले पार्टीलाई आधुनिक, प्रविधिमैत्री, एकताबद्ध र जनमुखी बनाउने संकल्पसहित उम्मेदवारी प्रस्तुत गरेको बताएका छन्।
बिष्टले सामाजिक सञ्जाल मार्फत जारी गरेको प्रतिबद्धता पत्रमा आफू तीन दशकभन्दा बढी समयदेखि लोकतान्त्रिक आन्दोलन, संगठन निर्माण, सामाजिक सेवा तथा जनजीविकाका सवालमा सक्रिय रहँदै आएको उल्लेख गरेका छन्। विद्यार्थी जीवनदेखि लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको तथा सन् १९९८ मा उच्च शिक्षाका लागि अमेरिका पुगेपछि पनि प्रवासबाट लोकतान्त्रिक आन्दोलनमा निरन्तर योगदान दिएको उनले बताएका छन्।

सन् १९९९ मा न्युयोर्कमा ‘नेप्लिज डेमोक्रेटिक युथ काउन्सिल’ स्थापना गरेको, सन् २००२ मा संयुक्त राष्ट्रसंघको भवनअगाडि निरंकुश राजतन्त्रविरुद्धको प्रदर्शनको नेतृत्व गरेको र २०६२/६३ को जनआन्दोलनका क्रममा अमेरिकाका विभिन्न सहरमा प्रदर्शन आयोजना गरेको बिष्टको प्रतिबद्धता पत्रमा उल्लेख छ।

सन् २००५ मा नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक संयोजक बनेका बिष्टले सन् २००८ र २०१४ मा दुई कार्यकाल सभापतिको जिम्मेवारी सम्हालेको बताएका छन्। उनका अनुसार सो अवधिमा अमेरिकाका विभिन्न स्थानमा २६ वटा च्याप्टर विस्तार भएका थिए। ११औँदेखि १४औँ महाधिवेशनसम्म महासमिति सदस्य रहेका उनी १३औँ महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउवाबाट आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका थिए।
बिष्टले प्रवासमा रहेका नेपालीको रोजगारी, उपचार तथा आपत्कालीन सहयोगमा समेत आफू सक्रिय रहेको बताएका छन्। कोभिड–१९ महामारीका क्रममा अमेरिकाबाट राहत संकलन गरी नेपाल पठाउनेदेखि प्राकृतिक विपद्, विद्यालय पुनर्निर्माण र स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गरेको उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन्।
उम्मेदवारीसँगै बिष्टले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी आन्तरिक एकता, पारदर्शिता र अनुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने तथा रोजगारी र उद्यमशीलतालाई प्राथमिकता दिने एजेण्डा अघि सारेका छन्।
त्यस्तै, विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पूँजीलाई राष्ट्र निर्माणमा जोड्ने, जनसम्पर्क समितिलाई व्यवस्थित बनाउने, शिक्षा र स्वास्थ्यमा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने तथा महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम र पछाडि पारिएका समुदायको प्रतिनिधित्व तथा सशक्तीकरणमा जोड दिने उनले बताएका छन्।
बिष्टले आफू व्यक्तिगत पद वा प्रतिष्ठाका लागि नभई पार्टीको नीति निर्माणमा योगदान गर्ने उद्देश्यले उम्मेदवारी दिएको दाबी गर्दै १५औँ महाधिवेशनका प्रतिनिधिहरूसँग अमूल्य मत, सल्लाह र आशीर्वादका लागि अपिल गरेका छन्।

















