खाेज्नुहाेस

‘गुट–उपगुटभन्दा माथि उठेर निष्पक्ष ढंगले काम गर्छु’ सभापति कार्की

Image

अत्तरिया – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ को सभापतिमा निर्वाचित सुरत कार्कीले आफूलाई विजयी गराउने क्षेत्रीय प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै गुट–उपगुटभन्दा माथि उठेर संगठनलाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन्।

कार्कीले सामाजिक सञ्जाल मार्फत निर्वाचनमा अत्यधिक मतका साथ विजयी गराएकोमा सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्दै यो विजय व्यक्तिगत मात्र नभई आफूले वर्षौँदेखि गरेको संगठनप्रतिको समर्पण र सेवाप्रतिको विश्वासको सम्मान भएको बताएका छन् ।

attariya hospital

सभापतिको जिम्मेवारी पाएसँगै सबैलाई समेटेर अघि बढ्ने, कार्यकर्ताको सुख–दुःखमा साथ दिने तथा संगठनलाई थप सुदृढ बनाउने उनले बताएका छन्।

navjiwan hospital

‘हिजो मैले मत मागेको थिएँ, आज यहाँहरूले विश्वास र जिम्मेवारी दिनुभएको छ। अब यो विश्वासलाई व्यवहारबाट प्रमाणित गर्ने समय आएको छ,’ कार्कीले भने।

उनले आफूलाई मत नदिएका साथीहरूलाई समेत आफ्नै साथीका रूपमा लिएर अघि बढ्ने बताएका छन्। पार्टीभित्र पक्ष–विपक्षको भावना नराखी सिंगो नेपाली कांग्रेस र सुदृढ संगठन निर्माणका लागि सबैसँग सहकार्य गर्ने उनको भनाइ छ।

कार्कीले पार्टीको नीति, विचार र अनुशासनलाई प्राथमिकतामा राख्दै आफूलाई प्राप्त जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

‘मसँग मत नमिलेका साथीहरू पनि मेरा आफ्नै साथी हुनुहुन्छ। अब कुनै पक्ष–विपक्ष होइन, सिंगो नेपाली कांग्रेस र सुदृढ संगठन निर्माणका लागि सबैसँग हातेमालो गरेर अघि बढ्नेछु,’ उनले भने ।