बैतडी – बैतडीका १० वटै स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका सबै पालिकामा नेतृत्व निर्विरोध चयन गर्दै अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए । चार पालिकाको अधिवेशन मंगलबार सम्पन्न भएको थियो भने बाँकी ६ पालिकाको अधिवेशन बुधबार सम्पन्न भएको हो । जारी अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताको उल्लासमय सहभागिता रहेको कांग्रेस बैतडीले जनाएको छ ।

कांग्रेसको वडा अधिवेशनमा पनि समावेशी सहभागिता उत्साहजनक रहेको सभापति चन्दले बताए । जिल्लाका ८४ वडामध्ये ५ वडामा दलित समुदायबाट सभापति चयन भएका छन् भने २ वडामा महिला सभापति निर्वाचित भएका चन्दले जानकारी दिए ।

पालिकागत रूपमा निर्विरोध निर्वाचित नेतृत्वमा दशरथचन्द नगरपालिकामा कर्णबहादुर बोहरा, पाटन नगरपालिकामा रमेशसिंह महरा, मेलौली नगरपालिकामा परमानन्द भट्ट, पुर्चौडी नगरपालिकामा मोहनसिंह साउद र पञ्चेश्वर गाउँपालिकामा लोकेन्द्रबहादुर चन्द चयन भएका छन् ।
त्यस्तै, दोगडाकेदार गाउँपालिकामा डम्बर सिंह कार्की, शिवनाथ गाउँपालिकामा महामल सिंह साउद, सुर्नया गाउँपालिकामा उत्तमबहादुर चन्द, सिगास गाउँपालिकामा दीपकसिंह धामी र डिलासैनी गाउँपालिकामा देवराज जोशी नेतृत्वमा चयन भएका हुन् ।

















