तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधी नेपालले जितेको छ । फाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले उपाधी जितेको हो ।
जितसँगै नेपालले २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान समेत बनाएको छ ।

नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएईले ४९.२ ओभरमा २६८ रनमात्रै बनायो । उसका लागि राहुल चोपडाले शतकीय पारी खेलेपनि टोलीको हार टार्न सकेनन् । उनी १०० रनमा नटआउट रहे ।
यस्तै, शोहैब खानले ५२ तनिश सुरीले ४२, हरप्रीत सिंहले ३३ रन जोडे ।

बलिङतर्फ नेपालका करण केसीले तीन तथा ललित राजवंशीले दुई विकेट लिँदा सन्दीप लामिछाने, रोहित पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र बसिर अहमदले एक–एक सफलता हात पारे ।
त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन जोड्यो ।
ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेले । १०६ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गर्दै १०२ रन जोडे ।
यस्तै, गुलशन झाले ५२ रनको अर्धशतकीय पारी खेले । अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ रन जोडे । बसिर अहमद १५ रनमा अविजित रहे ।
बलिङतर्फ युएईका इबरार अहमदले चार विकेट लिए । यस्तै, खुजैमा तनवीरले दुई तथा हैदर अली र अदीव उस्मानीले एक–एक विकेट लिए ।

















