धनगढी – बैतडी पुगेका पूर्वाधारमन्त्री सुनील लम्साललाई हेलिकप्टरमार्फत धनगढी ल्याइएको छ । स्वास्थ्यमा समस्या आएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दिपक रायले जानकारी दिए । ‘अहिलेलाई धनगढीका लगिएको छ, त्यहाबाट काठमाडौँ लैजाने तयारी छ,’ रायले भने ।

स्वास्थ्यमा समस्या आएकाले हिँडडुल गर्न सक्ने अवस्था नभएकाले हेलिकप्टरमार्फत ल्याइएको राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश सभापति प्रकाश बिष्टले जानकारी दिए । लम्साल शनिबार अबेर साँझ आफैँ गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका थिए ।

लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पुर्वाधारको अवस्थाको निरीक्षण गर्न आएको हो । दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएपनि स्वस्थ्यमा समस्य आएपछि हाललाई अन्य कार्यक्रम स्थगित भएका छन ।
















