अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पदबाट राजीनामा दिएका छन् । बिहीबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन । सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले गत असार ३१ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए । संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने प्रावधान अनुसार उनले राजीनामा दिने विकल्प रोजेका हुन । एक महिना अघि अल्पमतमा परे पनि उनले अन्तिम दिनमा आएर मात्रै राजीनामा दिएका छन् ।
शाह पहिलो पटक २०७९ माघ २६ गते मुख्यमन्त्री बनेका थिए । राजनीतिक समीकरण फेरिएपछि उनले चैत्र २२ गते राजीनामा दिएका थिए । २०७९ मंसिरको चुनावबाट गठन भएको प्रदेशसभामा पहिले एमालेका राजेन्द्र रावल, त्यसपछि कांग्रेसका कमलबहादुर शाह र उनीपछि एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बनेका थिए । त्यसपछि दोस्रो कार्यकालका लागि २०८१ असार २० गते मुख्यमन्त्री बनेका शाहको २ वर्षे कार्यकाल बिहीबार (२०८३ साउन २८ गते) सकिएको छ ।

मुख्यमन्त्री शाहले राजीनामा दिए पनि सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम प्रदेश सरकारको मुख्यमन्त्री पदबाट दिएको लिखित राजीनामा साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ ।

राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।
नयाँ सरकार गठनका लागि साउन २९ गते शुक्रवार (आज) बिहान ११ बजेसम्म प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न समय दिइएको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले सम्बन्धित दलहरूको समर्थनसहित दाबी पेस गर्नुपर्ने जनाएको छ ।
यससँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । प्रदेश प्रमुखको आह्वानअनुसार आज बिहान ११ बजेसम्म बहुमतको आधारसहित दाबी पेस भएपछि प्रदेश प्रमुखले आजै नयाँ मुख्यमन्त्री नियुक्त गर्नेछन् ।
सुदूरपश्चिम प्रदेशसभामा ५३ जना सदस्य रहेका छन् । तीमध्ये मुख्यमन्त्री शाह नेतृत्वको नेपाली कांग्रेसबाट १८,नेपाली कम्युनिस्ट पार्टीबाट सभामुखसहित २२, एमालेबाट ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना प्रदेशसभा सदस्य रहेका छन् । हाल एक जना देश बाहिर र एक जना निलम्बनमा रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
पछिल्लो समय नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिचको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशमा नेकपाको नेतृत्वमा सरकार बन्ने भनिएको छ । प्रदेशसभाको यस कार्यकालमा अब पाँचौँ मुख्यमन्त्रीका रूपमा नेकपा संसदीय दलका नेता खगराज भट्ट एमालेको समर्थनमा दाबी पेस गर्ने तयारीमा छन् । गठबन्धनमा खटपट भएपछि शाह नेतृत्वको सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटसमेत पारित हुन सकेको थिएन । हाल सुदूरपश्चिम प्रदेश सरकार बजेट शून्यताको अवस्थामा छ ।

















