काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका छन् । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाले जारी गरेको अपिलमा मुलुकमा सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका हुन् ।
उनले विगतका विभाजन र विद्वेषका घाउ निको पार्दै प्रतिशोध नभई मेलमिलापको बाटो रोज्नुपर्ने बताए । ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु,’ देउवाले भनेका छन् । उनले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति एक हुनुपर्ने उद्घोष गरेको स्मरण गर्दै अहिले पनि राष्ट्रिय एकता मजबुत बनाउने समय आएको बताए ।

‘मलाई लाग्छ फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ,’ उनले भनेका छन् । देउवाले नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको बताएका छन् । गत भदौमा भएको जेनजी आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको पनि उनले उल्लेख गरेका छन् ।
‘नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको छ । विश्व बदलिएको छ, र हामी पनि समयको गतिसँगै अघि बढ्नुपर्छ भन्ने सत्यलाई हामी स्वीकार गर्छौं,’ देउवाले भनेका छन् ।
परिवर्तनको अर्थ विगतको पुस्ताको त्याग, बलिदान र संघर्ष गलत थियो भन्ने नभएको उनले स्पष्ट पारेका छन् । आफ्नो पुस्ताले लोकतन्त्र, स्वतन्त्रता तथा विभिन्न जातजाति, क्षेत्र र समुदायको अधिकारका लागि संघर्ष गरेको भन्दै त्यसलाई नकारात्मक भाष्यका रूपमा प्रस्तुत गर्न नहुने उनको भनाइ छ ।
देउवाले वर्तमान सरकारको दायित्व जनताको परिवर्तनको आकांक्षा सम्बोधन गर्नु रहेको बताएका छन् । ताजा जनादेशबाट बनेको सरकारले जनताको मतको सम्मान गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
‘जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको छ । त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो,’ उनले भनेका छन् ।
उनले नेपाली कांग्रेस परिवर्तन व्यवस्थापनको प्रक्रियामा सहयोग गर्न तयार रहेको पनि बताएका छन् । तर परिवर्तनलाई अन्धाधुन्ध नभई विवेक, पारदर्शिता र न्यायका आधारमा अघि बढाउनुपर्ने उनको भनाइ छ । कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्नेमा देउवाले जोड दिएका छन् । कांग्रेस एकताबद्ध भएर अन्य राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने उनले बताएका छन् ।

‘नेपाली कांग्रेसमा देखिएको असहमति र निराशा तुरुन्तै समाधान हुनुपर्छ । मुलुककै ठूलो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुन सक्छ,’ उनले भनेका छन् । वर्तमान संविधान नेपालीको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको भन्दै देउवाले यसको संरक्षण र आवश्यक संशोधन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने बताएका छन् ।
युवा पुस्तालाई अघि बढाउनुपर्ने भए पनि पाका तथा अनुभवी पुस्तालाई पूर्ण रूपमा खराब देखाउने भाष्य गलत भएको उनले बताएका छन् । आफ्नो राजनीतिक अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको देउवाको भनाइ छ ।
‘मैले राजनीतिक रूपमा लिनुपर्ने केही छैन तर मेरो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नुपर्छ र त्यो अनुभव नयाँ पुस्तालाई शेयर गर्नु मेरो दायित्व पनि हो,’ उनले भनेका छन् ।
माओवादी सशस्त्र द्वन्द्वदेखि मुलुकका विभिन्न जटिल राजनीतिक घटनाक्रम र कांग्रेसभित्रका विवादमा मिलाप गराएको आफ्नो अनुभव रहेको उल्लेख गर्दै देउवाले आगामी दिनमा त्यो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन् ।
उनले कांग्रेस निरन्तर आत्मसमीक्षा र मार्ग सुधारका लागि प्रतिबद्ध हुनुपर्ने पनि बताएका छन् । ‘यदि हामी कतै विचलित भएका छौं भने सुधार गर्नेछौं; यदि कतै चुकेयौं भने पुनः उठ्नेछौं । हाम्रो यात्रा निरन्तर सुधारको यात्रा हुनेछ,’ देउवाले भनेका छन् ।
सार्वजनिक जीवनमा रहँदा आफूविरुद्ध विभिन्न आलोचना हुने गरेको उल्लेख गर्दै देउवाले आफूले राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको दाबी गरेका छन् ।
‘मेरो जीवन खुला किताब हो । म प्रतिज्ञा गर्दछु अझ पनि जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित, संविधान, कानुन र नैतिकता, मूल्य मान्यताअनुरूप काम गर्नेछु र यी विषयमा कुनै कसैसँग मेरो सम्झौता हुन सक्दैन,’ उनले भनेका छन् ।
स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका देउवाले आफूलाई स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गर्दै अब आफू विनम्र सेवकका रूपमा मुलुक र जनताको सेवामा समर्पित हुने बताएका छन् ।
‘म नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु– विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर,’ देउवाले भनेका छन् ।




















