खाेज्नुहाेस

नियुक्तिमा रास्वपाले दाबी गर्दै आएझैँ सुशासनको झल्को देखिन्न : भीम रावल

Image

अत्तरिया – नेपाल कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दावी गर्दै आएको सुशासन न्याय र निष्पक्षताको कुनै झल्को नदेखिएको बताएका छन ।

शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले तीनवटा प्रज्ञा प्रतिष्ठानमा गरेको नयाँ पदाधिकारी र सदस्यहरूको नियुक्तिमा रास्वपाले दाबी गर्दै आएझैँ सुशासन, न्याय र निष्पक्षताको कुनै झल्को नदेखिएको बताएका हुन । उनले २९ जना पदाधिकारीहरू नियुक्त भएकोमा  सुदूरपश्चिम प्रदेशबाट कोही पनि नपर्नु यसको उदाहरणको रुपमा प्रस्तुत गरेका छन ।

attariya hospital
navjiwan hospital

उनले लेखेका छन ‘ २९ जना पदाधिकारीहरू नियुक्त भएकोमा  सुदूरपश्चिम प्रदेशबाट कोही पनि छैन, कर्णाली प्रदेशबाट जम्मा एक जना । सदस्यहरूमा ८३ सदस्य मनोनयन हुँदा सुदूरपश्चिमबाट जम्मा नौ जना मात्र, त्यो पनि एकजना बाहेक सबै कैलाली र कञ्चनपुरबाट ।’ उनले प्रधानमन्त्री हुनु अघि बालेन्द्र शाहले सुदूरपश्चिममा गएर “झिक्कै झिक्कै माया“ भनेको यही हो त ? भनेर प्रश्न गर्दै यो भनाई नक्कली रहेछ भन्ने प्रमाणित भएन र ? भन्दै प्रतिप्रश्न गरेका छन ।

सरकारले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल संगीत तथा नट्य प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव, परिषद् सदस्य र सभा सदस्य चयन गरेको थियो । जसमा एकजना पनि सुदूरपश्चिमका नपरेपछि यसको चर्को आलोचना भइरहेको छ ।