अत्तरिया – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कैलाली क्षेत्र नं. ४ (ख) का सचिव विराज विष्टले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।

बिहीबार अत्तरिया पत्रकार सम्मेलनको आयोजना गर्दै विष्टले लामो समयदेखि राप्रपामा आबद्ध रही राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक मूल्य–मान्यता तथा जनताको अधिकार र हित संरक्षणका लागि सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्। बदलिँदो राजनीतिक परिस्थिति, व्यक्तिगत व्यावसायिक प्राथमिकता तथा सामाजिक सेवाका नयाँ आयामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले पार्टीबाट अलग हुने निर्णय गरेको उनले बताएका छन्।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उनले पार्टी नेतृत्व, सहकर्मी, शुभेच्छुक तथा आमजनताप्रति आभार व्यक्त गर्दै पार्टीबाट औपचारिक रूपमा अलगिए पनि देश, समाज र जनताको सेवामा आफ्नो प्रतिबद्धता यथावत् रहने उल्लेख गरेका छन्।
विष्टले आगामी दिनमा सामाजिक तथा विकासमुखी कार्यमा अझ सक्रिय रहने, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार निर्माण तथा स्थानीय समस्याको दीर्घकालीन समाधानका लागि जिम्मेवार र प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।
उनले पद, प्रतिष्ठा वा राजनीतिक आवरणभन्दा माथि उठेर सत्य, निष्पक्षता, सुशासन र समाज रूपान्तरणको अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो निर्णयलाई सकारात्मक रूपमा ग्रहण गरिदिन सबैमा आग्रह गरेका छन्। साथै, देशमा ठूलो शक्ति जनता नै भएको उल्लेख गर्दै जनताको सेवामा निरन्तर समर्पित रहने विश्वास व्यक्त गरेका छन्।


















