अत्तरिया – पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गेटा स्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि पहिला ३०० बेडको अस्पताल अनिवार्य हुनुपर्ने बताएका छन् ।
उनले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन पूर्व गेटा अस्पताललाई कम्तीमा ३०० बेडको क्षमतामा सञ्चालन गर्नु अनिवार्य रहेको बताएका हुन ।


उनले यो काम प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई यसमा गाभेर स्वास्थ्य मन्त्रालयकै जनशक्ति परिचालन गर्ने हो भने अत्यन्त न्यून लागतमा गर्न सकिने समेत बताएका छन् ।
उनले आफू मुख्यमन्त्री हुँदा नै एमबिबिएस पठनपाठन सुरु गर्न बजेट सुनिश्चितता गरेको बताउँदै स्थानीयको आवरणमा केही पक्षबाट वस्तुस्थिति नबुझी विरोध हुँदा कम नभएको बताएका छन् । उनले लेखेका छन् ‘हिजो, म स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी रहँदा गेटा अस्पताल सञ्चालन गर्न तथा एमबिबिएस पठनपाठन सुरु गर्नका लागि आर्थिक वर्ष २०८२/०८३ को बजेटमा नै स्रोत सुनिश्चितता गरेका थियौँ । त्यति बेला पनि स्थानीयवासीको आवरणमा केही पक्षबाट वस्तुस्थिति नबुझी विरोध भयो; तथापि अस्पतालको क्षमता अभिवृद्धि गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न हाम्रो पूर्ण तयारी थियो ।’
उनले हाल डा. गोविन्द केसीको सत्याग्रह विश्वविद्यालयको सुदृढीकरणको पक्षमा रहेको बताए । ‘हाल डा. गोविन्द के.सी.ले अस्पताल शीघ्र सञ्चालनको माग राखी सुरु गर्नुभएको सत्याग्रह अन्ततः दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयकै सुदृढीकरणका पक्षमा छ। तर, पुनः विभिन्न बहाना बनाएर विश्वविद्यालयको मेरुदण्ड मानिएको अस्पतालको क्षमता अभिवृद्धि र सञ्चालन प्रक्रियामा अवरोध पु¥याउने खेल भइरहेको देखिन्छ’ उनले लेखेका छन् ‘गेटा अस्पताललाई तत्काल ३०० बेडमा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै सुल्टो र व्यावहारिक बाटो हो । यसो नगरीकन न त विश्वविद्यालयको औचित्य पुष्टि हुन्छ, न त एमबिबिएसको पठनपाठन नै सुरु हुन सक्छ ।’

















