काठमाडौं – अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।

स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बन्यो । टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए ।

टोरेसले पेनाल्टी बक्सभित्र बाउन्स भइरहेको बललाई आफ्नो देब्रे खुट्टाले प्रहार गर्दै क्रसबारको ठीक मुनिबाट जाली चुमाएका थिए।
निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिँदै उपाधि हात पार्याे ।
स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबाबमा राख्यो । स्पेनले सन् २०१० मा पछिल्लोपटक विश्वकपको उपाधि जितेको थियो । यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जित्न सफल भयो ।



















