बझाङ – बझाङको केदारस्युँ गाउँपालिका–७ सुँगरेमा भएको जीप दुर्घटनापछि पीडित परिवार र घाइतेहरूको उपचारका लागि जिल्लाका सबै स्थानीय तहले कम्तीमा दुई लाख ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने भएका छन् । आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको सर्वदलीय बैठकले राहत, उपचार र विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो ।

साथै, जिल्लास्थित राजनीतिक दल, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था, नेपाल पत्रकार महासंघ तथा राष्ट्रसेवक कर्मचारीलाई पनि स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ । संकलित सहयोगको समन्वय दुर्गाथली गाउँपालिकाले गर्ने निर्णय गरिएको छ ।

घाइतेहरूको उपचारका लागि आवश्यक थप सहयोग उपलब्ध गराइदिन गृह मन्त्रालय तथा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । समितिका अनुसार दुर्घटनामा गम्भीर घाइतेमध्ये दुई जनालाई काठमाडौं र पाँच जनालाई नेपालगञ्ज हेलिकोप्टरमार्फत थप उपचारका लागि पठाउँदा ठूलो आर्थिक भार परेको छ । सोही कारण उपचार खर्च व्यवस्थापनका लागि विभिन्न निकायसँग सहयोग जुटाउने निर्णय गरिएको हो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु समेत भएको थियो ।
त्यसैगरी, मनसुन सक्रिय भएसँगै अविरल वर्षा, बाढी, नदी कटान र पहिरोका कारण सडकहरू थप जोखिममा परेकाले जिल्लाका सबै स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका जोखिमयुक्त सडक र मोडहरूको तत्काल सुधार, मर्मत–सम्भार तथा आवश्यक पूर्वतयारी गर्न निर्देशन दिने निर्णय पनि गरिएको छ ।

















