बझाङ – बझाङमा विद्यालयका शिक्षक र आफ्नै छोरा सन्तोष धामी बिच कुटपिट हुँदा छुट्याउन गएका गगन धामीको मृत्यु भएको छ । दुर्गाथली गाउँपालिका–३ रकेलस्थित भगवती आधारभूत विद्यालयमा सामान्य विवादपछि भएको कुटपिट छुट्याउन जाँदा घाइते भएका गगनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शुक्रबार बिहान विद्यालयका शिक्षक ५० वर्षीय मदन धामी र स्थानीय २५ वर्षीय सन्तोष धामीबीच सामान्य विवाद हुँदा कुटपिट भएको थियो । कुटपिट छुट्याउन गएका सन्तोषका बुवा ५८ वर्षीय गगन धामी पनि टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । सो क्रममा शिक्षक मदन धामीको पनि टाउकोमा चोट लागेर घाइते भएका थिए ।

दुवैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको थियो । उपचारपछि शिक्षक मदन धामी सोही दिन साँझ अस्पतालबाट डिस्चार्ज भएपनि गम्भीर घाइते गगन धामीलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएकोमा शनिबार उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले अनुसन्धानका क्रममा कुटपिटमा संलग्न रहेको आरोपमा दुर्गाथली गाउँपालिका–३ का २८ वर्षीय सिंहराज धामीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















