धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकारवाला सबै निकाय जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ । शनिबार धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले नागरिकको जिउधन र राज्यको सुरक्षामा सरकार, सुरक्षा निकाय, अदालत तथा सञ्चार क्षेत्रको महत्वपूर्ण भुमिका हुनेमा जोड दिए ।

‘राज्यका सम्पूर्ण निकायहरू एकअर्काका परिपूरक हुन’ मुख्यमन्त्री शाहले भने ‘राज्यका सबै निकायबीच समन्वय र सहकार्य भयो भने मात्रै प्रभावकारी नतिजा हासिल गर्न सकिन्छ ।’ जनताको सुरक्षालाइ केन्द्रविन्दुमा राखेर काम गरे मात्रै नागरिकको भरोसा जित्न सकिने स्पष्ट पार्दै मुख्यमन्त्री शाहले सरकार र नेपाल प्रहरीबिचको आपसी समन्वय र सहकार्यबाट सम्भब हुने बताए ।

उनले अपराध अनुसन्धानका क्षेत्रमा देखिएका कमजोरी सुधार गर्दै प्रदेशभर एकरूप कार्यशैली विकास गर्नुपर्नेमा जोड दिए । नेपाल प्रहरीको अनुसन्धान प्रणालीलाई अझ प्रभावकारी, व्यावसायिक तथा नतिजामुखी बनाउन स्पष्ट रणनीति तय गरी कार्यान्वयन गर्नुपर्ने मुख्यमन्त्री शाहको भनाइ थियो ।
















