महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरमा ‘एन्फा कम्युनिटी कोर्स–२०२६’ सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा पहिलो पटक ‘एन्फा कम्युनिटी कोर्ष’ सुरु भएको हो ।

कञ्चनपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्दले कोर्स यही असार ४ गतेसम्म हुने बताए । उनले जिल्लामा रेफ्री प्रशिक्षण कार्यक्रम यसअघि विसं २०६०, २०७४ र २०८२ मा भएको बताए । फुटबलको आधारभूत विकास, प्रशिक्षक उत्पादन तथा खेलकुद क्षेत्रको क्षमता अभिवृद्धिका लागि यस प्रकारका कार्यक्रम सञ्चालन हुनुपर्नेमा उनको जोड छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाजुरा, डोटी तराईका कैलाली कञ्चनपुरलगायत विभिन्न क्षेत्रबाट इच्छुक प्रशिक्षार्थीहरुलाई समावेश गरिएको सङ्घले जनाएको छ ।
जिल्लामा फुटबल खेलको विकास र प्रशिक्षक उत्पादनमा योगदान पु¥याउने उद्देश्यले सञ्चालन भइरहेको प्रशिक्षणमा सुदूरपश्चिमभरिका ४५ जना प्रशिक्षार्थी सहभागी छन् । प्रशिक्षकका एन्फाको प्राविधिक टोली खटिएको छ ।



















