काठमाडौं – अण्डाको सेवन दिमागका लागि फाइदाजनक हुन्छ कि हानिकारक ? यस विषयमा लामो समयदेखि बहस चल्दै आएको छ । र हालै सार्वजनिक भएको एक ठूलो र दीर्घकालीन अनुसन्धानले अण्डा सेवन र मस्तिष्कको स्वास्थ्यबीच सकारात्मक सम्बन्ध रहेको रोचक तथ्य बाहिर ल्याएको छ ।
एडभेन्टिस्ट हेल्थ स्टडी–२ नामक प्रतिष्ठित अनुसन्धानका अनुसार हप्तामा ५ देखि ७ वटा सम्म अण्डा खाने वृद्धवृद्धाहरूमा अल्जाइमर (बिर्सिने रोग)को जोखिम उल्लेखनीय रूपमा कम पाइएको छ।

यो अनुसन्धान निकै विस्तृत र दीर्घकालीन रूपमा गरिएको थियो । अनुसन्धानकर्ताहरूले झन्डै ४० हजार व्यक्तिहरूलाई १५ वर्षसम्म निरन्तर पछ्याएर उनीहरूको खानपान र स्वास्थ्य अवस्थाको विश्लेषण गरेका थिए ।

विशेष गरी ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूमा केन्द्रित यो अध्ययनले देखाएअनुसार, नियमित रूपमा हप्ताको ५–७ वटा अण्डाको सेवन गर्नेहरूमा अल्जाइमर रोग लाग्ने सम्भावना २७ प्रतिशतसम्म कम देखियो । उमेर बढ्दै जाँदा देखिने मानसिक ह्रास र बिर्सिने समस्या न्यूनीकरणमा अण्डामा पाइने पोषक तत्त्वहरू सहयोगी हुन सक्ने अध्ययनको निष्कर्ष छ ।
अध्ययनले सकारात्मक नतिजा देखाए पनि विज्ञहरूले सबैका लागि एउटै नियम लागू नहुने सचेत गराएका छन् । चिकित्सकहरूका अनुसार मधुमेह, उच्च रक्तचाप, वा मुटुको समस्या (उच्च कोलेस्टेरोल) भएका व्यक्तिहरूका लागि अण्डाको पहेँलो भागको बढी सेवन उपयुक्त नहुन सक्छ ।
यो अनुसन्धान विशेष उमेर समूह (६५ वर्षमाथि) मा आधारित भएकाले, सबै उमेर र स्वास्थ्य अवस्थाका व्यक्तिहरूले आफ्नो स्वास्थ्य स्थिति हेरेर र चिकित्सकको सल्लाह लिएर मात्र अण्डाको मात्रा तय गर्नु उचित हुन्छ ।
सन्तुलित मात्रामा अण्डाको सेवनले दिमागलाई फाइदा पुर्याउने भए पनि आफ्नो शरीरको आवश्यकता र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्नु नै सबैभन्दा बुद्धिमानी निर्णय हुने चिकित्सकहरूको भनाई छ ।

















