धनगढी – कैलाली उद्योग वाणिज्य संघले वन अतिक्रमण हटाउने नाममा टेम्पो भिरमा खसालिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।

संघका अध्यक्ष पुस्करराज ओझाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ मा सडक छेउको अतिक्रमण हटाउने क्रममा भएको घटनाको सत्यतथ्य छानबिन गर्न तथा दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई न्याय सुनिश्चित गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा वन अतिक्रमण हटाउने क्रममा भएको धरपकड तथा अमानवीय व्यवहारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । संघले यस्ता कार्यले कानुनी शासन, मानवअधिकार तथा जिम्मेवार सार्वजनिक सेवाका मूल्यमान्यतामाथि प्रश्न उठाएको जनाएको छ ।
साथै, राज्यका निकायहरूले कानुन कार्यान्वयनका क्रममा मानवीय संवेदनशीलता, नागरिकको सम्मान र विधिसम्मत प्रक्रियालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ ।
















