अत्तरिया – डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका–४ अन्तर्गत चुरे वन क्षेत्रमा वन कर्मचारीले सडकमा राखिएको टेम्पो भीरबाट खसालेको भन्ने विषय सामाजिक सञ्जालमा फैलिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले उक्त प्रचार तथ्यहीन र भ्रामक रहेको स्पष्ट पारेको छ ।
कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सम्बन्धित क्षेत्र नेपालको अत्यन्त संवेदनशील तथा कमजोर पर्यावरणीय प्रणाली रहेको चुरे क्षेत्रमा पर्छ । सो क्षेत्रमा सडक किनारको सार्वजनिक वन जग्गा गैरकानुनी रूपमा अतिक्रमण गरी निजी रूपमा बेचबिखन गर्ने, टहरा तथा छाप्रा निर्माण गरेर सरकारी वन जमिन कब्जा गर्ने गतिविधि लामो समयदेखि हुँदै आएको र वन प्रशासनले त्यसलाई नियन्त्रण गर्दै आएको जनाएको छ ।

विज्ञप्तिमा करिब पाँच महिनाअघि सो क्षेत्रमा पुनः अवैध खोका–टहरा निर्माण गरिएको उल्लेख गर्दै सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो उक्त टेपो कुनै गुड्ने वा सञ्चालन अवस्थामा रहेको सवारी साधन नभई घकेल्न सकिने अस्थायी संरचना मात्र रहेको स्पष्ट पारिएको छ । वन क्षेत्र अतिक्रमण गर्न प्रयोग गरिएको उक्त टेपोलाई यसअघि पनि हटाउन निर्देशन दिइएको र वन कर्मचारीले सम्बन्धित व्यक्तिको घरसम्म पु¥याइदिएको दाबी गरिएको छ ।

तर त्यसपछि पुनः सोही स्थानमा ल्याएर फलफूल व्यापार सञ्चालन गरिएको र यसपटक पनि हटाउन निर्देशन दिँदा सम्बन्धित व्यक्तिले अटेर गरेको कार्यालयको भनाइ छ ।
डिभिजन वन कार्यालयका अनुसार २०८३ साल असार २९ गते अतिक्रमण हटाउने अभियान सञ्चालनका क्रममा वन टोलीले उक्त गुडाउन नमिल्ने टेम्पोलाई बल प्रयोग गरेर पछाडितर्फ सारेको थियो । सो क्रममा भिरालो भौगोलिक अवस्था र असन्तुलनका कारण टेम्पो अनियन्त्रित भई भीरबाट खसेको जनाएको छ ।
कार्यालयले कानुनबमोजिम सञ्चालन गरिएको संरक्षण कार्यलाई अतिरञ्जित र भ्रामक ढंगले प्रचार–प्रसार नगर्न तथा सत्यतथ्य बुझेर मात्रै सूचना सम्प्रेषण गर्न सबैसँग अनुरोध गरेको छ ।


















