अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम सभापतिका लागि डा. जनक राज पन्तले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रवार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन । रास्वपाको अभियान तथा प्रचार प्रसार विभागका केन्द्रीय सदस्य रहेका उनले असार १ गते हुने प्रदेश अधिवेशनका लागि उम्मेदवारी घोषणा गरेका गरेकाे बताए ।

उम्मेदवारी घोषणा गर्दै उनले आफ्नो प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन् । जसमा सङ्गठनलाई आधुनिक, व्यवस्थित, पारदर्शी र जनउत्तरदायी बनाउने उल्लेख छ ।

घोषणा पत्रमा उनले प्रदेश स्तरमा आधुनिक पार्टी भवन निर्माण गर्ने, जिल्ला तथा स्थानीय तहसम्म सङ्गठन विस्तार, डिजिटल प्रणालीमार्फत पार्टी सञ्चालन, कार्यकर्ताको क्षमता विकास तथा आर्थिक पारदर्शितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता गरेका छन् ।
उनले आफूले प्रदेश बनाउन गरेको अठोटमा सबैलाई साथ दिन आग्रह गरे । ‘सुदूरपश्चिम भरीका सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता, सदस्यहरूमा मैले जसरी प्रदेश बनाउने अठोट गरेको छु । यसको लागि तपाइहरूको साथ सहयोग र समन्वयको अपेक्षा लिएको छु’ उनले भने ‘म झुटो बोल्दिन, म सुदूरपश्चिमको शिर ठाडो हुने गरी, राष्ट्रिय स्वतन्त्र पार्टीको पनि शिर ठाडो हुने गरी काम गर्ने छु ।’
उनले सुदूरपश्चिम प्रदेशमा पार्टीको आधुनिक भवन निर्माण गर्ने, प्रदेशका लागि सवारी साधनको व्यवस्थापन गर्ने, पार्टीको अक्षयकोष स्थापना गर्ने, विज्ञ समिति व्यवस्था गर्ने, सुदूरपश्चिमको वेबसाइट निर्माण गर्ने, बिमा सुविधाको व्यवस्था गर्ने, जिल्लामा व्यवस्थित कार्यालय स्थापना गर्ने, नि शुक्ल स्वास्थ्य उपचारका लागि पहल गर्ने, पार्टी कार्यालय स्मार्ट बनाउने, रोजगारीका लागि प्रदेशका सबै जिल्लामा घण्टी मार्ट स्थापना गर्ने, समावेशी प्रदेश समिति बनाउने आफ्ना मुख्य प्रतिबद्धता रहेको बताए । डा. पन्त टिभी टुडेका सञ्चालक पनि हुन ।
















