कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मा रहेको सिद्धार्थ युवा क्लबको आयोजनामा दोस्रो संस्करणको खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । युवाहरूलाई खेलकुदमार्फत अनुशासित, स्वस्थ तथा सामाजिक रूपमा सक्रिय बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
“हाम्रो सामूहिक गोल, लागू पदार्थ दुव्र्यसनको अन्त्य” भन्ने नारासहित सञ्चालन गरिएको प्रतियोगिताले युवामा बढ्दो लागू पदार्थ दुव्र्यसन नियन्त्रण गर्न तथा खेल संस्कृतिको विकासमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।


प्रतियोगिताको उद्घाटन कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले गरेका छन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख ओझाले नगरपालिकाले युवा तथा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
प्रतियोगिताको मुख्य प्रायोजन कृष्णपुर नगरपालिकाले गरेको छ भने प्रगतिशील सामुदायिक वन, एकता सामुदायिक वन, ऐश्वर्य सामुदायिक वन तथा तपेश फर्निचर उद्योगले सह–प्रायोजन गरेका छन् ।प्रतियोगितामा २० वटा टोलीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडलसहित नगद. १ लाख १ हजार १ सय ११ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १ सय ५१ पुरस्कार पाउनेछ । साथै उत्कृष्ट प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ ।
उद्घाटन समारोहमा नेकपाका केन्द्रीय सदस्य गोविन्द्र बिक, कृष्णपुर नगरपालिका–७ का वडा अध्यक्ष घुम्मा राना, वडा नं. ६ का वडा सदस्य चक्र रैकाल, सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणबहादुर ओड तथा प्रगति सामुदायिक वनका अध्यक्ष महेन्द्र रोकायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा विभिन्न टोलीका खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । आयोजक सिद्धार्थ युवा क्लबका पदाधिकारीहरूले प्रतियोगितालाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउँदै खेलाडीहरूलाई खेल भावना, अनुशासन तथा मित्रतापूर्ण प्रतिस्पर्धासहित उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरेका छन् ।














