डडेल्धुरा – अमरगढी नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि वडा ६ को गुनेगाड–छचोडा क्षेत्रमा निर्माण गर्न लागेको डम्पिङ साइट (फोहोर व्यवस्थापन केन्द्र) स्थानीयवासीको विरोधपछि पुनः विवादमा परेको छ । स्थानीयको अवरोधका कारण निर्माण प्रक्रिया प्रभावित हुँदा सदरमुकामको फोहोर व्यवस्थापन झन् पेचिलो बन्दै गएको छ भने वडा कार्यालयमा गरिएको तालाबन्दीका कारण सेवाग्राहीसमेत मारमा परेका छन् ।
बुधबार बिहान अमरगढी नगरपालिकाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा डोजरसहितको टोली प्रस्तावित डम्पिङ साइट क्षेत्रमा पुगे पनि स्थानीयवासीले अवरोध गरेपछि टोली काम नगरी फर्किएको थियो । त्यसपछि आक्रोशित स्थानीयले नगरपालिकाविरुद्ध नाराबाजी गर्दै अमरगढी नगरपालिका–६ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।


स्थानीयले आफ्नो माग पूरा नभएसम्म ताला नखोल्ने चेतावनी दिएका छन् । उनीहरूले पुनः जबरजस्ती डोजर ल्याएर काम गर्न खोजिए नगरपालिकाको कार्यालयमै समेत तालाबन्दी गर्ने चेतावनी दिएका छन् । अमरगढी नगरपालिकाले संघीय आयोजना कार्यान्वयन इकाइमार्फत करिब ४ करोड रुपैयाँको लागतमा आधुनिक फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने तयारी गरेको हो । नगरपालिकाका अनुसार सो प्रयोजनका लागि करिब १४ रोपनी जग्गा १८ लाख रुपैयाँमा खरिद गरिसकिएको छ भने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी ठेक्का प्रक्रियासमेत अगाडि बढाइएको छ । तर स्थानीयको विरोधका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन ।
स्थानीयवासीले प्रस्तावित क्षेत्रमा खानेपानीका मुहान, खेतीयोग्य जमिन तथा बस्तीनजिक रहेको भन्दै त्यहा फोहोर व्यवस्थापन केन्द्र स्थापना गरिए वातावरणीय प्रदुषण बढ्ने, दुर्गन्ध फैलिने र स्थानीयको स्वास्थ्यमा असर पर्ने चिन्ता गरेका छन् । अमरगढी–६ का स्थानीय प्रेम टमाटाले नगरपालिकाले स्थानीयको सहमति बिना जबरजस्ती डोजर ल्याएर फोहोर फाल्न खोजेको आरोप लगाए । नगरपालिकाले अन्य उपयुक्त स्थानको खोजी गरी व्यवस्थित रूपमा फोहोर व्यवस्थापन गर्नुपर्ने उनले बताए । उनले वडा कार्यालयमा लगाइएको ताला माग पूरा नभएसम्म नखोलिने भन्दै फेरि डोजर ल्याइए नगरपालिकाको कार्यालयमै समेत तालाबन्दी गरिने चेतावनी दिए ।
अमरगढी नगरपालिका–५ का वडाध्यक्ष तथा सरसफाइ समिति संयोजक टंक क्षेत्रीले फोहोर व्यवस्थापन नगरपालिकाको सबैभन्दा जटिल समस्या बनेको बताए । निर्वाचित भएर आएदेखि नै दीर्घकालीन समाधान खोज्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले सुरुमा उद्योग वाणिज्य संघको कार्यालयनजिक केही महिना अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिएको जानकारी दिए । त्यसपछि उक्त स्थान पनि उपयुक्त नभएपछि हाल अमरगढी–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गामा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिँदै आएको उनले बताए । तर त्यो स्थानसमेत पूर्णरूपमा भरिसकेकाले अब त्यहाँ थप फोहोर व्यवस्थापन गर्न कठिन भएको उनको भनाइ छ ।
क्षेत्रीका अनुसार दीर्घकालीन समाधानका लागि अमरगढी–६ मा जग्गा खरिद गरी डीपीआर तयार गरिएको, ठेक्का प्रक्रियासमेत सम्पन्न भएको र ठेकेदारले काम सुरु गर्ने तयारीमा रहेका बेला स्थानीयको विरोध चर्किएको हो । वडा कार्यालयमा तालाबन्दी भएपछि दैनिक प्रशासनिक सेवा लिन आउने सर्वसाधारण प्रभावित बनेका छन् ।














