खाेज्नुहाेस

बजेटमा क्षेत्रगत सन्तुलनमा मिलाउन जोड

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले आगामी आर्थिक वर्षको बजेटमा क्षेत्रगत सन्तुलन मिलाउन जोड दिएका छन् । मंगलबार प्रदेश सभामा सुरु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिएका प्रदेश सभा सदस्यहरूले पहाड रित्तिँदै गएको सन्दर्भ उठाउँदै क्षेत्रगत सन्तुलन मिलाउन जोड दिएका हुन ।

छलफलमा भाग लिँदै प्रदेश सभा सदस्य मान बहादुर धामीले तराइका जिल्लामै विश्वविद्यालय अस्पताल बनाउने तर दुर्गम दार्चुला, बझाङ, बाजुरा जस्ता ठाउँमा कहिल्यै नजर नपर्ने अवस्था रहेको बताए । उनले पहाडी क्षेत्रका योजना नीति कार्यक्रममा राखिएका भए पनि बजेट भने नछुटाउने गरेको बताए ।

attariya hospital

अपि हिमाल गाउँपालिकामा सडक जोड्ने भनिए पनि त्यसका लागि ५ रुपैयाँ पनि बजेट नछुटाउने प्रवृत्ति रहेको बताए । ‘यसै सरकारले हो गत वर्ष मात्रै धनगढीमा मात्रै १९ वटा बहुवर्षिय ठेक्का लगाएको थियो’ उनले भने ‘जहाँ पैदल हिँड्नलाई २÷३ दिनमा पालिकाका सदरमुकाम पुग्ने अवस्था छ । यसरी कसरी सन्तुलन मिल्यो ?’

उनले विद्यालय, अस्पताल पनि तराइमै केन्द्रित भएको बताए । ‘टिकापुरमा एउटा युनिभर्सिटी चाहिने, लम्कीमा एउटा अस्पतालका लागि दोहोरी झगडा हुने’ उनले भने ‘अनि दुर्गम बस्तीमा कहिल्यै नजर नपर्ने ।’ उनले नीति कार्यक्रम एउटा कुरा भए पनि व्यवहारमा उल्टो भएको बताए ।

navjiwan hospital

छलफलमा भाग लिदैं प्रदेश सभा सदस्य तुलसी देवकोटाले सहरी सुगम क्षेत्रमा योजना केन्द्रित भएर विकट पहाडी क्षेत्रमा पछाडि परेको बताउँदै त्यसका लागि विशिष्ट प्याकेज ल्याउनु पर्ने बताइन । उनले ग्रामीण भेगमा शिक्षाको गुणस्तर सुधारका लागि पूर्वाधार विकास, डिजिटल प्रविधि, आइसिटी र प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने बताइन । उनले दोस्रो पञ्चवर्षीय योजना सँग तादात्म्य मिलाएर अगाडी बढ्नुपर्ने बताइन ।

प्रदेश सभा सदस्य शिव सिंह ओलीले टीकापुर प्राविधिक विश्वविद्यालय स्थापना गर्ने कुरामा गम्भीर आपत्ति जनाए । उनले सोही प्रकृतिको विश्वविद्यालय नजिकै नेपालगन्ज बाँकेमा रहेको बताउँदै सुदूरपश्चिमको तराई पहाड र हिमालको मनोविज्ञान बुझेर जनसङ्ख्या रोक्ने रणनीति लिन आवश्यक रहेको बताए । उनले त्यसका लागि आफूले विधेयकमा संशोधन पनि राखिसकेको बताए ।

उनले प्रादेशिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिना खेल मैदान डडेल्धुरामा सम्पन्न भएको बताउँदै पहाडमा पनि रङ्गशाला निर्माण गर्न जोड दिए । उनले सरकारको दृष्टिकोण नमिल्दा सुदूरपश्चिम कुरूप बन्न लागेको बताए । ‘आज पहाड र तराइको विकासको सन्तुलन जनसङ्ख्याको चापलाई हेर्दा हामी एउटा अव्यवस्थित बसोबासको केन्द्रिकरण त बनाइरहेका त छैनौ तराइलाई, एउटा खण्डीकरण त गरिरहेका छैनौ तराइलाई भन्ने कुराको गहिरो प्रश्न उठेको छ’ उनले भने ‘हिमाल, पहाड र तराइका बस्तीको विकासको मोडलमा हामी क्लियर नहुँदा यस्तो हुँदै छ ।’

प्रदेश सभा सदस्य जानकी देवी कुँवरले बदलिँदो परिस्थिति अनुसारको नीति कार्यक्रम आउन नसकेको बताइन । उनले विगत देखि नीति एकातिर कार्यक्रम अर्कोतिर हुने गरेको बताइन । संविधानले नै मौलिक हकका रूपमा उल्लेख गरेका कुरा पनि नीति तथा कार्यक्रममा नसमेटिएको बताइन । उनले सुदूरपश्चिमका सबै जनताले सुदूरपश्चिम सरकार आफ्नो पनि हो भन्ने अपनत्व लिने हुनुपर्ने बताइन् ।

प्रदेश सभा सदस्य नरेश कुमार शाहीले आफ्नो निर्वाचन क्षेत्रमा धेरै बजेट हालेर चुनाव नजितिने बताउँदै विकासका कुरामा सबै सिरियस भएर लाग्न आवश्यक रहेको बताए । उनले आगामी बजेट समतामूलक, समानतामूलक न्यायिक बन्नुपर्ने बताए । उनले प्रदेशका सबै जिल्लाले मेरो बजेट हो भन्न पाउने गरी बजेट आउनुपर्ने बताए । उनले दुर्गम पछाडि परेका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए ।