अत्तरिया – नेपाली कांग्रेसले सुदूरपश्चिम सरकारमा पठाएका ३ मन्त्री र २ राज्यमन्त्री फेरेको छ । प्रदेश संसदीय दल भित्र विद्रोह गरेको समूहले मुख्यमन्त्री विरुद्ध नै अविश्वासको दर्ता गरेपछि चर्किएको विवाद पछि मन्त्री र राज्यमन्त्री फेरिएका हुन । जसअनुसार आर्थिक मामिला मन्त्रीमा विक्रमसिंह धामी, सोही मन्त्रालयको राज्यमन्त्रीमा जुना दानी, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर रावल, सामाजिक विकास मन्त्रीमा बेलबहादुर रानामगर र सो मन्त्रालयको राज्यमन्त्रीमा मधु भारती नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । ३ मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण गराएका हुन् भने दुई जना राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कमल शाहले शपथ ग्रहण गराएका छन् ।

यसअघि आर्थिक मामिला मन्त्रीमा बहादुर सिंह थापा, सामाजिक विकास मन्त्रीमा मेघराज खड्का, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा शिवराज भट्ट, सामाजिक विकास राज्यमन्त्रीमा सरस्वती खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाशबहादुर बम रहेका थिए । कांग्रेस संसदीय दलमा विगत लामो समय देखि मन्त्री फेरबदलको बहस हुँदै आएको थियो । तर, उक्त बहस मुख्यमन्त्री नै हटाउने अवस्थामा पुगेपछि मुख्यमन्त्रीले नै मन्त्री फेरबदल गरेर आफ्नो पद जोगाएका छन् ।

मन्त्री र राज्यमन्त्री फेरबदल गरेको कांग्रेसले संसदीय दलको प्रमुख सचेतक पनि फेरेको छ । प्रमुख समेतक रहेका विक्रमसिंह धामीको ठाउँमा प्रमुख सचेतक सरस्वती खड्का नियुक्त भएकी छन् । संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहले खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । खड्का सुदूरपश्चिम प्रदेशको सामाजिक विकास राज्यमन्त्री रहेकी थिइन । यसअघि प्रमुख समेतक रहेका विक्रमसिंह धामीले राजीनामा दिएका थिए ।
कांग्रेसले मन्त्री फेरेको मौकामा मन्त्री फेरबदलको प्रयास गरेको सत्ता साझेदार एमाले भने असफल भएको छ । एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेर नाम समेत सार्वजनिक गरिसकेको अवस्थामा एकाएक मन्त्री फेर्ने प्रक्रियामा ब्रेक लागेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रीमा सन्तोष थापा शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा चक्र मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा दमन भण्डारी तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जानकी ऐर बमको नाम सिफारिस गरेको एमालेले केन्द्रको निर्देशन अनुसार तत्काललाई मन्त्री फेर्ने योजना पुरा हुन सकेन । सुदूरपश्चिम प्रदेशमा अहिले एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री छन् ।
मन्त्री फेरबदल गर्नु निर्णयमा ब्रेक लागेपछि विरोध भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका मन्त्री फेरबदल नगर्न निर्देशन दिएको भन्दै असन्तुष्ट समूहले सोमबार धनगढीस्थित एमाले संसदीय दलको कार्यालयमा नाराबाजी, तोडफोड र पार्टीको प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् । नाराबाजीकर्ताहरूले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको विरुद्ध नारा लगाएका छन् । संसदीय दलको कार्यालयमै ‘राजेन्द्र रावल’ मुर्दावाद भन्दै नारा लागेको छ ।
सोमबार दिउँसो मन्त्री फेरबदलको विषयमा संसदीय दलको बैठक बसिरहेको थियो । त्यही बेला अध्यक्ष ओलीले संसदीय दलका नेता रावलसँग टेलिफोनमा कुराकानी गर्दै तत्काल मन्त्री नफेर्न निर्देशन दिएका थिए ।


















