खाेज्नुहाेस

मुख्यमन्त्री जोगाउन मन्त्रीहरु फेरबदल

Image

धनगढी – धरापमा परेको सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहको पद जोगाउन मन्त्रिहरु फेरबदल गरिने भएको छ । मुख्यमन्त्रीलाई नै हटाउन उनकै दल लागेपछि मन्त्री फेरबदल गर्न लागिएको हो । १८ जना रहेको कांग्रेस संसदीय दलमा मुख्यमन्त्रीविरुद्ध ९ जनाले हस्ताक्षर गरेका थिए । एक जनाले हस्ताक्षर फिर्ता लिएपनि मुख्यमन्त्री शाहको पद भने जोखिममै थियो । यसबिच शुक्रबारदेखि तीन दिनसम्म भएको छलफल, वार्तापछि अविश्वासकर्ता समूहले दुई मन्त्री र एक राज्यमन्त्री लिने गरी समझदारी भएको छ । अब कांग्रेस भागमा रहेका सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री फेरबदल गर्दै असन्तुष्ट पक्षबाट मन्त्री नियुक्त हुने छन् । एक जना राज्यमन्त्री पनि हुने छन् भने आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री समूहले आफ्नै पक्षमा यथावत राख्ने भएको छ ।

सुदूरपश्चिममा एमालेको साझेदारीमा २०८१ साउन २० शाह नेतृत्वको सरकार बनेको थियो । कांग्रेसबाट मुख्यमन्त्री, तीन मन्त्री र दुई राज्यमन्त्री गरी ६ जना सरकारमा छन् । कांग्रेसबाट बहादुरसिंह थापा आर्थिक मामिला, मेघराज खड्का सामाजिक विकास, शिवराज भट्ट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छन् । यस्तै सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री र प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री छन् ।

attariya hospital
navjiwan hospital

मुख्यमन्त्री पद जोखिममा परेपछि मुख्यमन्त्रीको तर्फबाट प्रमुख सचेतक विक्रम धामी, बहादुरसिंह थापा र प्रकाश बमले वार्ता गरेका थिए । कांग्रेसका केन्द्रीय सहमहामन्त्री उदय शमशेर राणा र केन्द्रीय सदस्य राजन केसी सुदूरपश्चिमको विवाद मिलाउन सक्रिय थिए ।

यसै मौकामा नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको छ । पार्टीले भौतिक पूर्वाधार विकास मन्त्रीमा सन्तोष थापा शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा चक्र मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा दमन भण्डारी तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जानकी ऐर बमको नाम सिफारिस गरेको छ ।एमालेले हाल भौतिक पूर्वाधार विकास मन्त्री रहेका सुरेन्द्र पाललाई प्रमुख सचेतक तथा राज्यमन्त्री निर्मला साउँदलाई दलको उपनेता बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेसले मुख्यमन्त्री बाहेक आफ्ना सबै मन्त्री परिवर्तन गर्ने तयारी गरेपछि एमालेले पनि नयाँ सांसदलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशमा अहिले एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एमालेका हिरा सार्कीले नेतृत्व गरिरहेका छन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउद छिन् । २०८१ साउनमा उनीहरू मन्त्रीमा नियुक्त भएका थिए । झण्डै दुई वर्षको कार्यकाल उनीहरू मन्त्री रहेको भन्दै अन्य सांसदहरूले अब आफूहरूलाई पनि मन्त्री बनाउनुपर्ने बताएका छन् ।

केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवादमा पनि केही सांसदहरूले मन्त्री हेरफेरको विषय उठाएका थिए । ओलीले यस विषयमा परामर्श गर्ने संकेत दिएका थिए ।