खाेज्नुहाेस

लगातार दोस्रो पटक आईपीएल च्याम्पियन बन्यो आरसीबी

Image

 १८ वर्षको लामो प्रतीक्षापछि पहिलो पटक आईपीएल उपाधि जितेको एक वर्ष मै रोयल च्यालेञ्जर्स बैंग्लुरु (आरसीबी) ले आफ्नो प्रभुत्व कायम राख्दै लगातार दोस्रो पटक ट्रफी उचालेको छ । आइतवार अहमदाबादमा सम्पन्न आईपीएल २०२६ को फाइनलमा आरसीबीले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै उपाधि रक्षा गर्न सफल भयो ।

पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । जवाफमा आरसीबीले १८ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । आरसीबीको जितमा अनुभवी ब्याट्सम्यान विराट कोहली नायक बने । उनले आईपीएल फाइनलमा आफ्नो सबैभन्दा छिटो अर्धशतक पूरा गर्दै अविजित ७५ रनको उत्कृष्ट इनिङ्स खेले । प्लेअफ इतिहासकै आफ्नो उच्च स्कोर बनाएका कोहलीले टोलीलाई सहज जिततर्फ डोर्याए।

attariya hospital
navjiwan hospital

यसअघि टस जितेर फिल्डिङ रोजेको आरसीबीका बलरहरूले प्रारम्भदेखि नै गुजरातमाथि दवाव सिर्जना गरेका थिए । जोस हेजलउडले कप्तान शुभमन गिल ई सस्तैमा आउट गर्दै गुजरातलाई झट्का दिएका थिए । त्यसपछि भुवनेश्वर कुमारले दुई विकेट लिँदा युवा तीव्र गतिका बलर रसिक सलामले ३ विकेट हात पार्दै गुजरातको मध्यक्रम तहसनहस बनाए । सलामले यस सिजन कुल १९ विकेट लिँदै आफ्नो उत्कृष्ट आईपीएल सिजन पूरा गरे ।

अर्कोतर्फ, अनुभवी अलराउन्डर क्रुणाल पाण्ड्याले ४ ओभरमा मात्र २३ रन खर्चेर १ विकेट लिए । उनले महत्वपूर्ण समयमा जोस बटलरलाई आउट गर्दै गुजरातको पुनरागमनको सम्भावना समाप्त पारे । गुजरातका लागि अन्तिमतिर वासिङटन सुन्दरले संघर्षपूर्ण अर्धशतक बनाउँदै ५० रन जोडे पनि टोलीलाई ठूलो स्कोरतर्फ लैजान सकेनन् ।

१५६ रनको लक्ष्य पछ्याएको आरसीबीका लागि वेंकटेश अय्यरले १६ बलमा ३२ रनको आक्रामक सुरुआत दिलाए । त्यसपछि कोहलीले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीलाई जित नजिक पुर्याए । गुजरातका बलर कगिसो रबाडा र रासिद खानले केही विकेट लिएर खेलमा फर्काउने प्रयास गरे पनि कोहलीको उत्कृष्ट प्रदर्शन अगाडि त्यो पर्याप्त भएन ।

खेलको १८औँ ओभरमा कोहलीले लगातार चौका र छक्का प्रहार गर्दै आरसीबीलाई ऐतिहासिक जित दिलाए । यससँगै आरसीबी आईपीएल इतिहासमा लगातार दुई पटक उपाधि जित्ने तेस्रो टोली बनेको छ ।