मेरा रात बिते कयौं प्रहरका – रोएर कल्पेर है ।
मेरो श्वास छ सुँक्क सुँक्क अँझ यो – त्यै पीर बल्झेर है ।।
रोएको मछु बालरोदन सरी – सम्झेर राताें दिन ।
बुझ्छन् खै कसले यहाँ विगतका – मेरा व्यथा दुर्दिन ।।
।।१।।
मेरा अन्तर छन् दुःखी मनुजका – पीडा–व्यथा–बेदना ।
जस्का दुःख निवारर्णार्थ म सधैं – लागीरहेछु यहाँ ।।
तिम्रा चिन्तनबाट दूर महुला – छौ साथ मेरा सबै ।
आस्था भाव सधैं भए म प्रतिका – बिर्सिन्न मैले कभै ।।
।।२।।

तिम्रा आकृति रुपयो हृदयमा – साँचेर नै हिँड्छु म ।
देवात्मा सब हौ म बुझ्दछु सधैं – सानिध्य तिम्रै छु म ।।
आँसू अघ्र्य चढाउँछु प्रणयले – नौला बिहानी पख ।
मेरा यी पदचिन्ह प्रेरक बुझी – आऊ सबै सम्मुख ।।
।।३।।

यौटा सिद्ध–प्रबुद्ध–सन्त–तपसी – भन्छन् मलाइ जन ।
यौटा यौगिक विज्ञ धार्मिक भनी – गर्छन् नि सम्बोधन ।।
नेता–लेखक–विश्वप्राज्ञिक–गुरु – भन्छन् कसैले यहाँ ।
मेरो अन्तर आत्मबृत्त अघिको – को बुझ्न सक्ला कहाँ ।।
।।४।।
आफै भित्र छ कस्तुरी मृग भने – भाग्दैछ चारैतिर ।
आफै भित्र छ उच्चता मनुजको – खोज्दैछ अर्कैतिर ।।
आफ्नै स्थान पुनीत छन् धरणिका – यी तीर्थ गंगा सरी ।
आफै भित्र छ कंश–रावण बुझौं –आफु सितै छन् हरि ।।
।।५।।
(हिन्दी कथनको काव्यानुवाद)
लेखक निर्मलकुमार भण्डारी गोदावरी न.पा.–४, बास्कोटा–कैलाली


















