आँखामा पानी टन्नै छ, तैपनि प्यास बाँकी छ
बाटो छ अति अफ्ट्यारो, तैपनि आश बाँकी छ ।
कहाँ आकाशको जून, कहाँ सागर धर्तिको
ब्यर्थैमा अझ जाने भो, सारा तीर्खा तरंगको ।

जो जस्को भाग्यमा हुन्छ, उसैले हो त पाउने
किन फेरी दुखी बन्नु, किन फेरी पिरोलिने ।
आँखाको स्वाद भिन्नै छ, मनको स्वाद भिन्न छ
सत्यको माँग भिन्नै छ, यस्तैमा मन खिन्न छ ।
न मानू मन मान्दैन, माने वैराग्य लाग्दछ ।
जता हे¥यो उतै शंका, उतै चिन्ता पलाउँछ

परीक्षा दिनु नै पर्छ, सबैले नै सबै दिन
उत्तीर्ण हुन सक्ने नै, पाउँछन् अभिनन्दन ।
मन जित्नेहरुले नै, विश्वमा राज गर्दछन् ।
जो हुन्छन् मनका दाश, अन्तमा रोई मर्दछन् ।
मनको शान्ति नै ठूलो, मनको सुख नै सुख
शान्ति नै नभए फेरी, के को ऐश्वर्य वैभव ।
जहाँ शान्ति त्यहीं माया, त्यहाँ नै प्राप्तिको सुख
अशान्त मनमा नत्र, पीरै पीर, दुखै दुख ।
अशान्त मनको यात्रा, अशान्ति मै डुबाउँछ
भएको पनि देखिन्न, भित्र भित्रै जलाउँछ ।
डा. टेकराज पन्त
महेन्द्रनगर, कंचनपुर

















