एन्टिबायोटिक औषधिको उपचारसँगै चिनीयुक्त खाना मिसाएर खाँदा मानिसको पेटको माइक्रोबायोमलाई गम्भीर नोक्सान पुग्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ । प्रतिष्ठित वैज्ञानिक जर्नल ‘नेचर’मा बुधबार प्रकाशित नयाँ अनुसन्धानले स्टेम सेल प्रत्यारोपण गर्नुअघि अस्पतालमा भर्ना भएका र लगातार एन्टिबायोटिक सेवन गरेका क्यान्सर बिरामीहरूको आन्द्रामा पाइने ब्याक्टेरियामा कस्तो प्रभाव पर्छ भन्ने प्राकृतिक प्रयोगको अध्ययन गरेको थियो ।
बिरामीहरूले अस्पतालमै तयार पारिएको खाना मात्र खाने भएकाले उनीहरूले के र कति मात्रामा खाना खाए भन्ने ठ्याक्कै थाहा पाइएको थियो, जुन पोषणसम्बन्धी अध्ययनहरूमा विरलै मात्र सम्भव हुन्छ ।
मानिसको आन्द्रामा खर्बौं ब्याक्टेरिया, भाइरस र अन्य सुक्ष्म जीवहरू (माइक्रोबायोम) हुन्छन्, जसले पाचन क्रियामा सहयोग गर्ने, आवश्यक भिटामिन बनाउने र प्रतिरोधात्मक क्षमतामा भूमिका खेल्ने गर्छन् । मेमोरियल स्लोअन केटरिङ क्यान्सर सेन्टरका चिकित्सक तथा वैज्ञानिक डा. जोनाथन पेलेडका अनुसार क्यान्सर उपचारका कारण बिरामीहरूको माइक्रोबायोम र पोषण अवस्था दुवै अस्तव्यस्त भएको समयलाई अध्ययनका लागि आधार बनाइएको थियो ।

अध्ययनमा १७३ बिरामीहरूबाट संकलन गरिएका १,००० भन्दा बढी दिशाका नमुना र उनीहरूले खाएका ९,४०० भन्दा बढी खानाको विश्लेषण गरिएको थियो। एन्टिबायोटिकको प्रयोग जति कडा हुन्छ, आन्द्राको ब्याक्टेरियाको विविधता (डाइभर्सिटी) पनि त्यति नै बढी नष्ट हुने गर्छ ।

तरकारी, फलफूल वा अन्य सामान्य खानाले ब्याक्टेरियाको विविधतामा खासै असर नगरे पनि चिनी र गुलियो पेय पदार्थहरू (स्वीट्स) को सेवनले भने ठूलो असर पार्ने देखिएको छ । एन्टिबायोटिक उपचारको क्रममा चिनीयुक्त परिकारको सेवन हरेक ३.५ औंसले बढ्दा बिरामीको आन्द्रामा रहेको ब्याक्टेरियाको विविधता करिब २४ प्रतिशतले घटेको अध्ययनले देखाएको छ ।
ब्याक्टेरियाको विविधतामा आएको कमीले ‘इन्टेरोकोकस फेसियम’जस्ता हानिकारक ब्याक्टेरियाहरूको संख्या अत्यधिक मात्रामा बढाउने गर्छ । सामान्य अवस्थामा आन्द्रामा हानिरहित रूपमा बस्ने यो जीव अन्य ब्याक्टेरियाको कारण नियन्त्रणमा रहन्छ ।
तर एन्टिबायोटिकले अन्य ब्याक्टेरिया नष्ट गरिदिँदा यी हानिकारक ब्याक्टेरिया अनियन्त्रित रूपमा बढेर आन्द्राको पर्खाल हुँदै रगतमा प्रवेश गर्न सक्छन् र यसले ‘सेप्सिस’जस्ता प्राणघातक समस्या निम्त्याउन सक्छ । विशेष गरी बोन म्यारो प्रत्यारोपण गराएका बिरामीहरूमा यसले प्रत्यारोपणजन्य जटिलता (ग्राफ्ट भर्सेस होस्ट डिजिज)लाई अझ बक्सिँदो बनाउने डा. पेलेडले बताएका छन् ।
अध्ययनका अनुसार औसतभन्दा बढी चिनी खाने बिरामीहरूमा प्रत्यारोपणपछि मृत्यु हुने जोखिम अन्यको तुलनामा करिब १२ प्रतिशतले बढी देखिएको छ । यद्यपि यो अध्ययन क्यान्सरका बिरामीहरूमा केन्द्रित भए पनि, विज्ञहरूले सामान्य अवस्थामा कानको संक्रमण वा अन्य कारणले एन्टिबायोटिक सेवन गर्दा पनि उच्च चिनीयुक्त आहारबाट टाढै रहनु बुद्धिमानी हुने सुझाव दिएका छन् ।


















