खाेज्नुहाेस

सुदूरपश्चिमका पाँच सांसद आफूसँग रहेको रेशम चौधरीको दाबी

Image

धनगढी – नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशमलाल चौधरीले सुदूरपश्चिमका पाँच जना प्रदेश सभा सदस्य आफ्नै पार्टीमा रहेको दाबी गरेका छन् । चौधरीपत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकता गरेकी थिइन् ।

एकतापछि नाउपाबाट निर्वाचित प्रदेश सभाका ७ जना सांसद पनि नेकपामै समाहित भएका छन् । बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै चौधरीले तत्कालीन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सात मध्ये पाँच जना आफूसँगै रहेको दाबी गरेका हुन् ।

attariya hospital
navjiwan hospital

‘सुदूरपश्चिममा पाँच, लुम्बिनीमा तीन र मधेश प्रदेशमा एक सांसद हामीसँगै हुनुहुन्छ । अधिकांश स्थानीय तहका जनप्रतिनिधि पनि साथमै हुनुहुन्छ,’ चौधरीले भने, ‘सुदूरपश्चिमका पाँच मध्ये दुुई सांसदले त पद नै गएपनि साथ नछोड्ने भन्नुभएको छ ।’

उनले पूर्वमन्त्री समेत रहेका रामेश्वर चौधरी, घनश्याम चौधरी, लक्ष्मणकिशोर चौधरी, इन्दिरा गिरी र टीका थापा आफ्नै पार्टीमा रहेको दाबी गरेका थिए । पूर्वमन्त्री खुशीराम चौधरी र कैलाश चौधरीको विषयमा भने कुनै प्रतिक्रिया दिएनन् । उनले पाँच सांसद आफ्नो पार्टीमा भएको दाबी गरेपनि रामेश्वर र घनश्याम बाहेकका सांसद नेकपाको संसदीय दलको बैठकमा सहभागी हुँदैआएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग टेलिफोनमा कुराकानी भएको पनि चौधरीले बताए । ‘प्रचण्ड जीले फोन गर्नुभएको थियो । हामी सुदूरपश्चिममा ५ जना छौँ’, चौधरीले भने, ‘हामीले केही गर्नसक्दैनौँ भनेको छु । मेरो विचारमा सुदूरपश्चिममा सरकार नचलाएकै राम्रो हुन्छ ।’

पछिल्लो समय खुलेका नयाँ पार्टीहरु विचार र सिद्धान्तविहीन भएको चौधरीको भनाई थियो । रञ्जितासँग सम्बन्ध बिग्रिएपछि रेशमले नागरिक उन्मुुक्ति पार्टी नेपालका नामबाट नयाँ पार्टी खोलेका थिए ।