खाेज्नुहाेस

पेटमा सधैँ जलन हुन्छ ? यी खानेकुरा हुन सक्छन् मुख्य कारण

Image

काठमाडौँ । धेरै पिरो वा मसलेदार खानेकुरा खाँदा कहिलेकाहीँ पेट पोल्ने समस्या हुनु सामान्य हो । तर, यो समस्या लगातार देखिइरहन्छ भने यसले तपाईंको खानपानको बानीमाथि प्रश्नचिह्न खडा गर्छ ।

यस लेखमा हामी पेट पोल्ने समस्या निम्त्याउने प्रमुख कारणहरू र यसबाट छुटकारा पाउने उपायहरूबारे चर्चा गर्नेछौँ ।

attariya hospital

पिरो र मसलेदार खानेकुरा

यस्ता खानेकुरा स्वादिलो लागे पनि यसले पेटको भित्री भागमा समस्या निम्त्याउन सक्छ । चाहिनेभन्दा बढी रातो खुर्सानी, मरिच र गरम मसलाले शरीरमा अत्यधिक मात्रामा एसिड उत्पादन गर्छन् । यसले गर्दा पेट र घाँटी पोल्ने समस्या हुन्छ । विशेषगरी गर्मी मौसममा लगातार यस्ता खानेकुरा खाँदा यो समस्या अझ बढ्न सक्छ ।

गोलभेँडाले बढाउन सक्छ एसिडिटी

गोलभेँडाको प्रकृति अम्लीय हुन्छ । यसले पेटको समस्या बढाउन सक्छ । यसलाई काँचै, पकाएर, सस वा केचप जसरी खाए पनि पेट र छाती पोल्ने समस्या हुन सक्छ ।

यी पेयपदार्थ पनि हानिकारक

सफ्ट ड्रिङ्क्स वा कार्बोनेटेड पेयपदार्थमा कार्बन डाइअक्साइड हुन्छ । यसले पेटमा दबाब बढाउने काम गर्छ । यही दबाबका कारण एसिड माथितिर आउन थाल्छ र पेट वा छाती पोलेको महसुस हुन्छ ।

navjiwan hospital

क्याफिनयुक्त पेयपदार्थ

चिया, कफी र इनर्जी ड्रिङ्क्सले पेटमा धेरै मात्रामा एसिड बनाउन थाल्छन् । विशेषगरी खाली पेटमा क्याफिनयुक्त पेयपदार्थ पिउँदा पेट पोल्ने समस्या अझ बढ्न सक्छ ।

दुग्धजन्य पदार्थ

धेरै मानिस पेट वा घाँटी पोलेको शान्त पार्न दुग्धजन्य पदार्थको सेवन गर्छन् । यद्यपि, यसमा हुने बोसोको मात्राले पाचन प्रक्रियालाई ढिलो बनाउँछ र एसिड धेरै बन्न थाल्छ । दूध नपच्ने समस्या भएका व्यक्तिहरूमा त यो परेशानी झनै बढ्छ ।

मांसाहारी खानेकुरा

रातो मासु र धेरै तेलमा पकाइएका मांसाहारी परिकारहरू निकै भारी हुन्छन् । यिनलाई पचाउन लामो समय लाग्छ । यही कारणले गर्दा अत्यधिक मात्रामा एसिड बन्न थाल्छ र पेटमा दबाब बढ्छ ।

यसरी पाउन सकिन्छ राहत

समस्या बढ्दै गएमा चिकित्सकको सल्लाह लिनु अनिवार्य छ। साथै, जीवनशैलीमा गरिने यस्ता सामान्य परिवर्तनले पनि पेट पोल्ने समस्या कम गर्न मद्दत गर्न सक्छन :

– क्याफिन वा कार्बोनेटेड पेयपदार्थ कम मात्रामा पिउने र खाली पेटमा यस्ता कुरा खाँदै नखाने ।
– राति सुत्नुअघि भारी भोजन नखाने ।
– एकैपटक धेरै खानुको साटो थोरै–थोरै गरेर धेरैपटक खाने ।
– सुत्दा टाउको अलि माथि हुने गरी सिरानीलाई केही अग्लो बनाएर राख्ने ।
– शरीरको तौल नियन्त्रणमा राख्ने ।