खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेश सभामा २ विधेयक टेबल

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा दुईवटा महत्वपूर्ण विधेयकहरू टेबल गरिएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा ‘सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबल गरिएको हो ।

navjiwan hospital

सामाजिक विकास मन्त्री मेघराज खड्काले सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम १०७ को उपनियम (१) बमोजिम ती विधेयकहरू सभा समक्ष टेबल गर्न प्रस्ताव गरेका थिए ।

attariya hospital

यसअघि वैशाख १७ गते नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले संसद सचिवालयमा दर्ता भई लामो समयदेखि प्रक्रियामा नगएका यी दुई विधेयकलाई अविलम्ब सदनमा पेश गरी छलफल अगाडि बढाउन सभामुखसँग आग्रह गर्ने निर्णय गरेको थियो । दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको उक्त बैठकले विधेयकहरू रोकिँदा संसदको कार्यप्रणाली माथि नै प्रश्न उठ्ने भन्दै गम्भीर ध्यानाकर्षण जनाएको थियो ।

सरकारले ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ २०८१ चैत ३ गते र ‘बरघर तथा भलमन्सा प्रथा संरक्षण विधेयक’ २०८२ जेठ २१ गते संसद सचिवालयमा दर्ता गराएको थियो । सचिवालयमा दर्ता भएको लामो समय बितिसक्दा पनि सदनमा पेश नभएको भन्दै प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले यसलाई प्राथमिकतामा राख्न दबाब दिँदै आएको थियो ।