काठमाडौँ । गर्मीको आगमनसँगै बजारमा छ्याप्छ्याप्ती आँप देखिन थाल्छ । कोही मानिसहरू आँपलाई फ्रिजमा राखेर चिसो आँप टोकेर वा चुसेर खान रुचाउँछन् भने कोही आँपको रस, शेक वा आँपको मिठाई खान उत्सुक हुन्छन् । स्वाद र पोषणले भरिपूर्ण यो फल धेरैजसोको मनपर्ने फल हो । तर कहीलाई आँप खाएपछि पेट दुख्न थाल्छ । कसैको पेटमा ग्यास बन्दछ त कसैलाई पेटमा भारी महसुस हुन्छ र कसैलाई पखाला पनि लाग्छ ।
स्वास्थ्य विज्ञहरू आँप आफैंमा हानिकारक नभएको विश्वास गर्छन् । तर खाने विधि, मात्रा र शरीरको पाचन क्षमताले यसको स्वास्थ्य लाभ निर्धारण गर्छ । स्वस्थ व्यक्तिहरूले आँप खाएपछि सामान्यतया पखाला अनुभव गर्दैनन् भनेर सीके बिर्ला अस्पतालकी क्लिनिकल पोषणविद् दीपाली शर्मा भन्छिन् । एक पटकमा धेरै आँप नखाँदासम्म वा अनुचित तरिकाले आँप नखाँदासम्म यस्तो नहुने उनी भन्छिन् ।

एकै पटकमा खानु हुन्न धेरै आँप
आँपमा राम्रो मात्रामा फाइबर हुन्छ । यसले पाचन सुधार गर्न मद्दत गर्छ । तर आवश्यकताभन्दा धेरै फाइबरको सेवन गर्दा पेट दुख्न सक्छ । धेरै मानिसहरूले एकैचोटि ३–४ वटा आँप खान्छन्, जसले पेटमा दबाब बढाउन सक्छ र पखाला नै निम्ताउन सक्छ ।
प्राकृतिक चिनी
आँपमा फ्रुक्टोज हुन्छ । यो भनेको फलफूलको चिनी हुन्छ । केही मानिसको शरीरले यसलाई सजिलै पचाउन सक्दैन । यसले ग्यास, पेट फुल्ने र पेट दुख्ने जस्ता पेटका समस्याहरू निम्त्याउन सक्छ । पहिले नै कमजोर पाचन भएका मानिसहरूले यी समस्याहरू अझ बढी अनुभव गर्न सक्छन् ।
धेरै पाकेको आँपले पनि निम्त्याउँछ समस्या

धेरै पाकेको आँपको स्वाद मीठो हुन्छ, तर केहीको लागि यो मिठासले एसिडिटी र पेटमा जलन निम्त्याउन सक्छ । विशेष गरी यदि खाली पेटमा वा धेरै मात्रामा आँप खाएमा यसले पेट खराब हुने जोखिम बढाउन सक्छ ।
हानिकारक हुन सक्छ रासायनिक रूपमा पाकेको आँप
केही ठाउँमा आँपलाई चाँडै पकाउन रसायनहरूको प्रयोग गरिन्छ । यसरी पकाइएका आँप प्रायः पेटको लागि प्रतिकूल हुन्छन् र आन्द्रामा जलन गराउन सक्छन् । त्यसैले, प्राकृतिक रूपमा पाकेको आँप किन्ने प्रयास गर्नुहोस् ।
सरसफाइमा ध्यान
गर्मीमा फलफुल छिट्टै बिग्रिन्छन् । तपाईले राम्ररी नपखालिकन काटेको आँपलाई लामो समयसम्म खुल्लामा राख्नुभयो भने यसमा ब्याक्टेरिया उतपन्न हुन थाल्छन् । यस्तो आँप खाँदा पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने समस्या आउन सक्छ । सडक किनारामा खुल्लामा काटेर बेचिने फलफूल सकेसम्म नखानुस् ।
आँप खाँदा ध्यानमा राख्नुस् यी कुराहरू :
- एकैचोटि धेरै आँप नखानुस् ।
- खानु अघि आँप राम्ररी धुनुहोस् ।
- काटेको आँपलाई लामो समयसम्म बाहिर नछोड्नुहोस् ।
- तेल वा मसलादार खानासँग आँप नखानुहोस् ।
- यदि तपाईंको पेट संवेदनशील छ भने सन्तुलित मात्रामा आँप खानु पर्छ ।
आँप खान बन्द गर्नुपर्छ र ?
आँपमा शरीरको लागि लाभदायक मानिने धेरै आवश्यक पोषक तत्त्वहरू पाइन्छ । त्यसैले आँपलाई पूर्ण रूपमा बेवास्ता गर्नु हुँदैन । तपाईंलाई चाहिएको भनेको सन्तुलित आहार र यसलाई खाने सही तरिका हो । उचित सावधानी अपनाउने हो भने स्वादका साथ आँप खान सकिन्छ र कुनै समस्याबिना यसको मीठो स्वादको आनन्द लिन सकिन्छ ।


















