काठमाडौँ – नेपालमा नसर्ने रोगहरू (उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली र श्वासप्रश्वाससम्बन्धी रोग) समयअगावै हुने मृत्युका प्रमुख कारणका रूपमा देखापरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल मृत्युको करिब ७१ प्रतिशत हिस्सा नसर्ने रोगका कारण हुने गरेको छ । साथै, सन् २०३० सम्म यो दर ७९ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ । यस्ता रोगहरूले व्यक्ति, परिवार तथा समग्र स्वास्थ्य प्रणालीमा पर्ने भार निरन्तर बढाइरहेका छन् ।

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयद्वारा कार्यान्वयनमा ल्याइएको ‘नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना (२०७८–२०८२)’अनुसार करिब २२ प्रतिशत नेपाली जनता नसर्ने रोगका कारण ३० देखि ७० वर्षको उमेर बीचमै अकाल मृत्युको जोखिममा छन् ।
पछिल्लो समय अधिकांश घरपरिवारमा कुनै न कुनै प्रकारका नसर्ने रोगका बिरामी भेटिन थालेका छन् । यद्यपि, २०७८ माघ २४ गते मन्त्रिपरिषद्बाट स्वीकृत उक्त महत्वाकाङ्क्षी कार्ययोजनाले अपेक्षित रूपमा नसर्ने रोग न्यूनीकरणमा उल्लेखनीय सुधार ल्याउन सकेको छैन ।


















