धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले युवाहरु परिवर्तनका संवाहक भएको बताएका छन । शनिबार धनगढीमा सुरु भएको ‘सुदूरपश्चिम प्रदेश युवा सम्मेलन २०२६’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले मुलुकमा भएका विभिन्न परिवर्तनहरूमा युवाहरूको सकारात्मक सोच, सक्रियता र प्रविधिमैत्री प्रयोगको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले २००७ सालको क्रान्तिदेखि २०४६/०४७ को जनआन्दोलन, २०६२/०६३ को जनआन्दोलन हुँदै पछिल्लो जेन्जी पुस्ताको आन्दोलनसम्म युवाहरूले लोकतन्त्र, गणतन्त्रको स्थापना तथा सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरणका लागि उल्लेखनीय योगदान गरेको बताए ।


मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा युवाका आवाज समावेश गर्न प्रदेश सरकार सकारात्मक रहेको बताए । उनले डिजिटल युगमा युवालाई अवसरसँगै सचेतनाको आवश्यकता पनि रहेको बताए ।
गैरसरकारी संस्था महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष देवी प्रसाद खनालको सभापतित्वमा भएको कार्यक्रममा महासंघका केन्द्रीय उपमहासचिव किरण थापा र भवराज रेग्मी, युवा अभियानका अध्यक्ष योगेन्द्र काफ्ले तथा सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी सदस्य पृथ्वीबहादुर शाह लगायतको उपस्थिति रहेको थियो ।
‘यङ्ग पिपुल कमिङ टुगेदर टु स्ट्रेन्थेन डिजिटल सिभिक स्पेस’ भन्ने मूल नारासहित सुरु भएको दुई दिने सम्मेलनमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट युवाहरूको सहभागिता रहेको छ । सम्मेलन जेठ १० गतेसम्म सञ्चालन हुनेछ ।


















