अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ मा जेवाईसि वडास्तरिय खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा कार्यालयको आर्थिक सहयोग र ज्वाला देवी युवा क्लब (जेवाईसी) को आयोजनामा शुक्रबारबाट प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको एक औपचारीक कार्यक्रमका बिच वडाध्यक्ष हेमप्रकाश मल्लले शुभारम्भ गरे । कार्यक्रममा बोल्दै उनले नगरभित्रकै उत्कृष्ट कार्यक्रमका रुपमा आफूले खेलकुद प्रतियोगितालाई बुझेको बताए । उनले एक वडा एक खेलकुद कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षबाट वडामा रहेका युवा क्लब तथा बालक्लबहरुका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलकुद प्रतियोगिताले वडाभित्रका क्लबहरुमा आपसी भाईचाराको सम्बन्ध स्थापना गर्नमा पनि मद्धत पुग्ने आफुले अपेक्षा लिएको बताए ।

उनका अनुसार पछिल्लो समय भयावह रुपमा फैलदै गईरहेको लागुऔषध दुव्र्यसनको जालोबाट युवा र बालबालिकाहरुलाई अलग राख्नका लागि पनि खेलकुद प्रतियोगिता महत्वपुर्ण रहेको छ । उनले आगामी वर्षहरुमा पनि वडामा यस्ता कार्यक्रमहरु गर्नका लागि बजेट विनियोजन गरिने बताए ।
कार्यक्रमका विशिष्ठ अतिथि रहेका वडासदस्य शेरबहादुर घर्तिमगरले वडाभित्रका युवा तथा बालबालिकाहरुलाई समेट्ने उद्देश्यले कार्यक्रमका लागि बजेट विनियोजन गरिएको बताए । उनले बाहिरबाट खेलाडी ल्याउदा वडाभित्रका खेलाडीहरुले योग्यता अनुसारको प्रदर्शन गर्न छुट्ने भएकाले वडाभित्रका मात्रै खेलाडीहरुलाई सहभागि गराउने गरी प्रतियोगिता आयोजना गरिएको बताए ।

कार्यक्रममा ज्वाला देवी युवा क्लबका अध्यक्ष महेश्वर भट्टले वडाभित्र रहेका खेलाडीहरुको प्रतिभा पहिचान गर्नका लागि वडा कार्यालयले सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे । उनले वडाभित्र रहेका खेलाडी तथा युवाहरुलाई खेलप्रति जागरुक बनाउन पनि यस्ता किसिमका प्रतियोगिताहरु हुन आवश्यक रहेको औल्याए ।
प्रतियोगितामा दुई ओटा विधामा खेलहरु खेलाईने अध्यक्ष भट्टले बताए । उनका अनुसार प्रतियोगितामा भलिबल र क्रिकेट खेलाईनेछ । क्रिकेटमा ५ वटा टिम र भलिबलमा ६ वटा टिम दर्ता भएको क्लबका अध्यक्ष भट्टले बताए । यही जेठ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै विधातर्फका विजेता टोलीलाई नगद रु. २५/२५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र द्धितिय टोलीलाई नगद रु. १५/१५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिनेछ । प्रतियोगितामा दुवै विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष भट्टले बताए ।
बिवाईसीको विजयी सुरुवात
प्रतियोगिताको उद्घाटन खेल टिम बास्कोटा र बसन्तपुर युवा क्लब (बिवाईसी) बिचको क्रिकेट प्रतियोगिताबाट गरिएको थियो । जसमा बिवाईसीले बिजयी सुरुवात गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको बिवाईसी निर्धारित १० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनायो । १४५ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको टिम बास्कोटाले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो ।
नटआउट प्रणालीमा खेलाईएकाले टिम बास्कोटा बिवाईसी सँग पराजित भएसँगै प्रतियोगिता बाट नकआउट भएको छ । प्रतियोगितामा शनिबारबाट भलिबल र क्रिकेट दुवै बिधाका खेलहरु खेलाईनेछन् ।















