काठमाडौं – नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा फेरि ३ स्थान माथि उक्लिएका छन् ।
आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र ३ स्थान सुधार गर्दै २५औं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक बढेर १५९ भएको छ ।

गत साता दीपेन्द्र ३१औं स्थानबाट २८औं स्थानमा उक्लिएका थिए । उनको रेटिङ अंक त्यसबेला १५३ थियो । त्यसयता ६ अंक बढेको हो ।

घरेलु मैदानमा भएको लिग २ शृंखलामा गरेको प्रदर्शनबाट उनको वरियतामा सुधार भइरहेको छ । यसअघि ओमान र यूएईसँग भएको शृंखलाका ४ खेलमा उनले २ अर्धशतक र १ शतक प्रहार गर्दै महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले ४ विकेट पनि लिए ।
यस्तै अहिले भइरहेको नेपाल, अमेरिका र स्कटल्यान्डबीचको शृङ्खलामा पनि उनले राम्रो प्रदर्शन गरिरहेका छन् । स्कटल्यान्डसँगको पहिलो खेलमा ५५ रन बनाएका थिए ।
अमेरिकासँगको खेलमा ४ विकेट लिँदा ब्याटिङमा भने उनको पालो आएन । त्यसपछि स्कटल्यान्डसँग सोमबार भएको खेलमा ब्याटिङमा २ रन मात्र बनाउँदा बलिङमा १ विकेट लिए ।
टी-२०आई अलराउन्डरको वरियतामा भने दीपेन्द्र चौथो स्थानमै यथावत् छन् ।
अलराउन्डरकै वरियतामा सन्दीप लामिछाने ३ स्थान माथि उक्लँदै ६८औं स्थानमा छन् । ललित राजवंशी १२ स्थान माथि उक्लिएर ७६औं स्थानमा छन् । गुल्शन झा १५ स्थान माथि उक्लिएर ८७औं स्थानमा छन् भने करण केसी ५ स्थान तल झरेर ८९औं स्थानमा पुगेका छन् ।
















