काठमाडौं– नेपालमा पछिल्ला केही दिनयता अत्यधिक गर्मी बढ्दै गएको छ । तराई–मधेशसहित काठमाडौं उपत्यकामा समेत तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित हुन थालेको छ ।

चर्को घाम तथा तातो हावाका कारण स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै चिकित्सकहरूले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । अत्यधिक गर्मीका कारण शरीरमा पानीको कमी हुनु, घाँटी सुक्नु, चक्कर आउनु, आँखा रातो हुनु तथा पिसाब पहेँलो हुनु जस्ता समस्या देखिन सक्छन् ।

स्वास्थ्य विज्ञहरूका अनुसार शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमी हुँदा ‘डिहाइड्रेसन’ हुने जोखिम बढ्छ । लामो समयसम्म चर्को घाममा बस्दा ‘हिट स्ट्रोक’ समेत हुन सक्ने भएकाले विशेष सावधानी आवश्यक छ । स्वास्थ्य विज्ञहरूका अनुसार लगातार पसिना बग्दा शरीरबाट पानीसँगै नुनको मात्रा पनि कम हुँदै जान्छ, जसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।
चिकित्सकहरूले गर्मीमा प्रशस्त पानी पिउनुका साथै झोलिलो खानेकुरा, फलफूल र इलेक्ट्रोलाइटयुक्त पेय पदार्थ सेवन गर्न सुझाव दिएका छन् । त्यस्तै, धेरै समय एसीमा बस्दा प्यास कम लाग्ने भएकाले शरीरमा पानीको कमी हुन सक्ने जोखिम पनि रहने उनीहरूको भनाइ छ ।



















