अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गोदावरी नगर समितिले सामूहिक राजीनामा दिएको छ । मंगलबार नगर समितिको बैठकबाट निर्णय गरेर सामूहिक राजीनामा दिने निर्णय गरिएको हो । बहुमत सदस्यको उपस्थिति रहेको बैठकको निर्णयमा कसैको दबाब प्रभावमा नपरेर स्वतन्त्र रूपमा आजका मितिदेखि राजीनामा दिएको उल्लेख छ ।

उक्त निर्णयमा पार्टीमा नयाँ सदस्यहरूबाट र प्रदेश समितिबाट समेत हालको यस गोदावरी नगरको तथा पार्टीको सिद्धान्तअनुसार कार्य सम्पादन गर्न नसकेको ठहर गरी नयाँ सदस्यहरूलाई मार्ग खुला गरिएको उल्लेख छ ।

निर्णयमा लेखिएको छ ‘यस गोनपा रास्वपा कार्य समिति कसैको दबाब र प्रभावमा नपरी स्वतन्त्र रूपले आजका मिति देखि यस पार्टीमा नयाँ सदस्यहरूबाट र प्रदेश समितिबाट समेत हालको यस गोदावरी नगरको तथा पार्टीको सिद्धान्तअनुसार कार्य सम्पादन गर्न नसकेको ठहर गरी नयाँ समितिलाई मार्ग खुला गर्नु पर्ने चाहना यस समितिको बैठकले औँल्याएकाले नयाँ व्यक्तिहरूलाई कार्य सम्पादनमा सहजताको लागि यस नगर समितिको जिम्मेवारीबाट राजीनामा दिने निर्णय सर्व सहमतिले पारित गरियो ।’


















