संसारका हरेक पाँचमध्ये एक व्यक्तिमा मष्तिष्कघात र मुटुसम्बन्धी रोगबाट हुने मृत्युको जोखिम बढाउने एउटा वंशानुगत र लुकेको कोलेस्ट्रोलको खतरा रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । सामान्य रगत परीक्षणमा कोलेस्ट्रोलको मात्रा सामान्य देखिए पनि यो विशेष प्रकारको तत्वका कारण मुटुको स्वास्थ्य गम्भीर जोखिममा पर्न सक्ने नयाँ अनुसन्धानले देखाएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार रगतमा पाइने यो लुकेको कोलेस्ट्रोल कणलाई ‘लिपोप्रोटिन ए’ अर्थात् Lp(a) भनिन्छ । यो हेर्दा खराब कोलेस्ट्रोल जस्तै देखिन्छ, तर यसमा एउटा अतिरिक्त प्रोटिन हुन्छ जसले यसलाई मुटु र रक्तनलीका लागि बढी हानिकारक बनाउँछ । यो समस्या पूर्ण रूपमा वंशानुगत हुन्छ र यसको कुनै बाहिरी लक्षण देखिँदैन । त्यसैले विश्वका करिब २० प्रतिशत मानिस यो जोखिम बोकेर बाँचिरहेका छन् तर उनीहरूलाई यसबारे कुनै जानकारी नै छैन ।


क्यानडाको मोन्ट्रियलमा आयोजित ‘सोसाइटी फर कार्डियोभास्कुलर एन्जियोग्राफी एन्ड इन्टरभेन्सन’ २०२६ को वैज्ञानिक सम्मेलनमा यो प्रतिवेदन प्रस्तुत गरिएको हो । अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थानद्वारा सञ्चालित तीनवटा ठूला अध्ययनमा सहभागी ४० वर्षभन्दा माथिका २० हजार ७० जना वयस्कहरूको रगतको नमूना परीक्षण गरेर यो निष्कर्ष निकालिएको हो ।
करिब ४ वर्षसम्म गरिएको अनुगमनका क्रममा Lp(a) को मात्रा १७५ nmo/L वा सोभन्दा बढी भएका मानिसहरूमा मुटुसम्बन्धी गम्भीर समस्याहरूको जोखिम अत्यधिक पाइएको थियो । यस्ता बिरामीहरूमा मुटुको रोगबाट हुने मृत्युको सम्भावना ४९ प्रतिशत र मष्तिष्कघातको जोखिम ६४ प्रतिशत बढी हुने अध्ययनले देखाएको छ । विशेष गरी पहिले नै मुटुको रोग भइसकेका व्यक्तिहरूमा यो मात्रा उच्च हुँदा जोखिम अझ बढी पाइएको थियो ।
वरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. सुभाष बनर्जीका अनुसार यो अनुसन्धानले पहिलो पटक Lp(a) को कुन स्तरले बिरामीलाई मृत्यु र स्ट्रोकको जोखिममा पार्छ भन्ने स्पष्ट रूपमा निर्धारण गरेको छ । उनले उमेर जतिसुकै भए पनि मानिसहरूले एक पटक साधारण र सस्तो रगत परीक्षण गरेर आफ्नो शरीरमा यो वंशानुगत जोखिम छ या छैन भन्ने पत्ता लगाउन सक्ने बताएका छन् ।
यदि रगतमा यसको मात्रा उच्च देखिएमा चिकित्सकको सल्लाहमा अन्य जोखिमहरू जस्तै एलडीएल कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने र मुटुलाई स्वस्थ राख्ने उपायहरू कडा रूपमा अपनाउनुपर्छ । भविष्यमा यसलाई नै लक्षित गरी उपचार गर्ने नयाँ विधिहरू समेत विकास भइरहेकाले यो जानकारी बिरामीहरूका लागि निकै महत्वपूर्ण साबित हुने वैज्ञानिकहरूको विश्वास छ ।



















