खाेज्नुहाेस

गोदावरी नगरपालिकाद्धारा रोजगारदाताहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाले रोजगारदाताहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाको रोजगार सेवा केन्द्रले शुक्रबार विभिन्न संघसंस्थाहरुको सहयोगमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

navjiwan hospital

नगरपालिकाबाट विभिन्न किसिमका तालिम लिएका व्यक्तिहरुलाई रोजगारसँग जोड्नका लागि रोजगारदातासँग अन्तरक्रिया गरिएको नगरपालिकाका रोजगार संयोजक रोहित प्रसाद जोशीले जानकारी दिए । उनले नगरक्षेत्रभित्र रहेका रोजगारदाताहरुलाई नगरपालिकाले तालिम दिएका प्रशिक्षार्थीहरुलाई रोजगारमा आवद्ध गराउनका लागि रोजगारदाताहरुसँग छलफल गरिएको बताए । ‘नगरपालिकाले प्रदान गरेका विभिन्न सिपमुलक तालिमहरु लिएका व्यक्तिलाई रोजगारीसँग जोड्ने हाम्रो उद्देश्य हो’ उनले भने ‘विशेष गरेर हाम्रो पालिका भित्र धेरै रोजगारी सृजना गर्ने होटल व्यवसाय, हार्डवेयर, ईट्टा भट्टा, पेन्टस् उद्योग लगायतका क्षेत्रमा यहाँकै व्यक्तिहरुलाई दक्ष बनाएर कसरी पठाउन सकिन्छ भन्ने विषयमा खास आज अन्तरक्रिया गरिएको हो ।’ उनले होटल तथा अन्य क्षेत्रमा बाहिरका जनशक्तिहरु रहेको र त्यो स्थानमा यहीको जनशक्तिलाई स्थान दिने विषयमा पनि रोजगारदाताहरुसँग छलफल गरिएको बताए ।

attariya hospital

उनका अनुसार नगरपालिकाले पछिल्लो समय बजारको मागमा आधारित तालिमहरु मात्रै प्रदान गरिरहेको छ । उनले विगतमा सिक्ने व्यक्तिको मागमा भन्दा पनि बजारमा माग भई आएको क्षेत्रमा नगरपालिकाले तालिम दिईरहेको बताए । ‘व्यक्तिले बजारको माग नहेरी आफु अनुसार तालिम सिक्ने र माग गर्ने गरेकाले विगतका सिपमुलक तालिमहरु त्यति प्रभावकारी भएको जस्तो देखिएन’ उनले भने ‘अहिले हामीले बजारको मागमा आधारित भएर तालिमहरु सञ्चालन गरेका छौ, त्यसमा प्रशिक्षार्थीहरुको उपस्थिति पनि एकदमै राम्रो छ ।’ उनले परम्परागत तरिकाले सञ्चालित हुने व्युटिपार्लर, सिलाईकटाई लगायतका तालिमहरुमा खासै उपस्थिति नभएपनि कफी बाटिस्टा, बेकरी लगायतका क्षेत्रमा भने तालिम लिने व्यक्तिहरुको उपस्थिति राम्रो देखिएको बताए ।

अन्तरक्रिया कार्यक्रमलाई रोजगार संयोजक जोशी र निड्स नेपालका प्रतिनिधि प्रकाश चन्द्र मडैले सहजीकरण गरेका थिए । कार्यक्रममा गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्ट, प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।